सूचनाको शक्ति - The Power Of Information

        

यस बर्षको दशैंमा कस्तो रहला मौसम ?

यो वर्षको दशैं आउन अब धेरै समय बाँकी छैन । असोज १९ गते विजया दशमी रहेको छ । दशैं नजिकिसके पनि पानी पर्ने क्रम भने जारी छ । मनसुनी प्रणाली नेपालबाट नबाहिरिएका कारण पानी परिरहेको हो ।

मनसुन सामान्यतः नेपालमा औसतमा अक्टोबर २ बाट बाहिरिन्छ । तर, यो औसत समय मात्रै हो । योभन्दा केही अगाडि वा पछाडिसम्म पनि मनसुनी वायु सक्रिय रहन सक्छ । यदि औसत समयमै यो वर्ष मनसुन बाहिरियो भने अक्टोरबर २ अर्थात सप्तमी फूलपातीका दिन बाहिरिनेछ ।

विजया दशमी (टीका) अक्टोबर ५ गते पर्छ । औसत समयमै मनसुन बाहिरिए टीकाको दिन पानी पर्ने सम्भावना न्यून हुन्छ । तर, मनसुन औसत समयमै बाहिरन्छि भन्ने यकिन नहुने मौसमविद् राजु प्रधानाङ बताउँछन् । ‘सधैँ औसत समयमा मनसुन सुरु हुन्छ र बाहिरिन्छ भन्ने हुँदैन । अगाडि वा पछाडि दुवै हुने उत्तिकै सम्भावना रहन्छ,’ उनी स्पष्ट पार्छन् ।

जल तथा मौसम विज्ञान विभागमा तीन दिनभन्दा लामो समयको पूर्वानुमान गर्ने प्रविधि नरहेको राजु बताउँछन् । ‘हामीसँग तीन दिनभन्दा लामो समय फोरकास्ट गर्ने टेक्नोलोजी छैन,’ उनी भन्छन्, ‘त्यसैले यो वर्षको दशैंमा पानी पर्छ वा पर्दैन भनेर हामी अहिले नै भन्न सक्तैनौं ।’ कुनै समय तीन दिनको पूर्वानुमान पनि नमिल्ने उनले बताए ।

‘हामीले पछिल्लो समय तीन दिनको फोरकास्ट गरेका थियौं । तर, हिजो अचानक पानी पर्ने देखियो र हामीले त्यही अनुसारको बुलेटिन जारी गर्यौं,’ उनी अगाडि थप्छन्, ‘तीन दिन अगाडि हेर्दा हाम्रो टेक्नोलोजीले आज जुन परिमाणमा वर्षा हुुने सम्भावना छ त्यो देखाएको थिएन ।’ जुन १३ नेपालमा मनसुन भित्रिने सरदर मिति हो । तर, यस वर्ष जुन ५ मै मनसुन भित्रिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १०:५०