सूचनाको शक्ति - The Power Of Information

        

लीको नेपाल भ्रमणमा खुल्यो दुई नाका

चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रसुवा दुवै नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो ।

नाका खुलेसँगै रसुवाबाट बिहीबार बिहानै सातवटा ठूला कन्टेनर सामान र तातोपानी नाकाबाट दुई कन्टेनर सामान भित्रिएको भन्सार विभाग, रसुवाका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताउनुभएको छ । बाँकी सात कन्टेनर सामान पनि साँझसम्ममा भित्रिसक्ने उहाँको भनाइ थियो ।

यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर सामान आउने र यो नाकाबाट अन्य सामानभन्दा बढी फलफूल भित्रिने गरेको छ ।

चारदिने नेपाल बसाइका क्रममा भएको उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट दशैंतिहारजस्ता चाडपर्वको मुखमा यी दुई नाका तत्काल खोलिनुपर्नेमा जोड दिइएको थियो । भेटमा राजनीतिक दलका शीर्ष नेताले लीलाई नाका खुलाउने विषयमा विशेष आग्रह गरेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार ०७:३४