सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा ब्लड बैंकको नयाँ भवन बन्ने

नेपालगञ्जस्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बिहीवार भवनको शिलान्यास गरेका छन् । यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ ।

अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

विनियोजित बजेटमध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छ । २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रबर्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयानुसार नेपालगञ्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।

यसैबीच मन्त्री राईले बिहीवारनै डुडुवागाउँपालिका वडा नं ३ रमपुर्वामा र वडा नं ४, ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टाछुट्टै पुलको शिलान्यास पनि गरेका छन् ।

यो पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला आरपार गर्न सहज हुनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार १९:५४