सूचनाको शक्ति - The Power Of Information

        

जग्गाको कित्ताकाट फुकुवा, जग्गा कारोबारी सक्रिय

धनगढी उपमहानगरपालिकाले १५ वटा वडामा जग्गाको कित्ताकाट फुकुवा गरेपछि जग्गा कारोबारी ‘रियल स्टेट व्यवसायी’ सक्रिय बन्दै गएका छन् । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै भू–माफियाहरु सक्रिय बन्दै गएका हुन् ।

१९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गरेसँगै उपमहानगरभित्र ६ वडा आवासीय क्षेत्र भएका छन् । उपमहानगरले वडा नं.१ र ४ लाई असार ३१ गते नै आवासीय क्षेत्र घोषणा गर्दै जग्गा कित्ताकाट फुकुवा गरेको थियो । बुधबार बसेको बैठकले वडा नं. २, ३, ५ र ११ लाई पनि आवासीय क्षेत्र घोषणा गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

यता, कार्यपालिकाको बैठकले कृषि क्षेत्रलाई पनि आवासीय क्षेत्र भनेर कित्ताकाट फुकुवा गरेपछि भूमाफियाहरु सक्रिय बन्दै गएको नगरबासीले बताएका छन् । नगरबासीका अनुसार वडा नं.११ कृषि क्षेत्र हो । तर, नगरप्रमुख गोपाल हमालको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले कृषि क्षेत्रलाई पनि आवासीय क्षेत्र भनेर कित्ताकाट फुकुवा गरेपछि कतै नगर प्रमुख हमाल भूमाफियाको चंगुलमा फसेका त छैन ? भन्ने प्रश्न नगरबासी गरेका छन् ।

उपमहानगरपालिकाले धनगढीका ६ वटा वडालाई आवासीय र अन्य वडाका सडक तथा शाखा सडकको दायाँ–बायाँका क्षेत्रलाई गैरकृषि बनाउने निर्णय गर्दै जग्गा कित्ताकाट फुकुवा गरेको छ । केही दिनअघि जग्गा कारोबारलाई व्यवस्थित गर्ने भन्दै जिल्लामा ‘जग्गा तथा आवास विकास संघ’ गठन गरेका व्यवसायीले गैरकानुनी रुपमा घर जग्गा कारोबार गर्नमा रोक लगाउने दाबी गरेका छन् । बिहीबार धनगढीमा सिमित पत्रकारलाई बोलाई पत्रकार सम्मेलन गरेको थियो ।

संघ गठन भएसँगै गैरकानुनी रुपमा भइरहेको जग्गा कारोबारमा कमी आउने संघको दाबी रहेको छ । ‘विगतका वर्षमा बिचौलियाले आफ्नै मर्जीमा घर जग्गा कारोबार गर्दै आएका थिए । तर, अब संघ गठन भएपछि जथाभावीरुपमा घरजग्गा कारोबार गर्न पाउदैनन्,’ संघका अध्यक्ष अर्पेन्द्र अवस्थीले भने, ‘घरजग्गा कारोबारमा बिचौलियाले फाइदा उठाउँदै आएकाले बदनामबाट नियन्त्रण गर्न संघ गठन गरिएको हो ।’

उनले बिचौलियाका कारण घर जग्गा वितरण गर्दा राज्यलाई पनि फाइदा नहुने र किन्ने तथा बिक्री गर्नेलाई लाभ नमिल्ने गरेको बताए । राज्य तथा जग्गा धनीलाई मर्का नपरोस् भन्ने उद्देश्य लिएर आफूहरु संगठित भएको संघको भनाइ छ । संघका अनुसार कैलालीमा अहिलेसम्म १५ भन्दा बढी घरजग्गा कारोबारी संगठित भएका छन् । संघ गठन भएसँगै जिल्लाभर घर जग्गा कारोबारीको संख्या यकिन हुने अध्यक्ष अवस्थिले बताए ।

अवस्थि धनगढी उपमहानगरपालिकाले जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गर्नुअघि बसेका विभिन्न बैठकमा सहभागी छन् । जग्गा कित्ताकाट फुकुवा भएपछि रियल स्टेट कम्पनी दर्ता गरेका व्यवसायीहरु आफ्नो लाभ लिन सक्रिय भइरहेको देखिन्छ । कृषि क्षेत्र मानिएको वडा नम्बर ११ लाई वडा कार्यालयको सिफारिसमै आवासीय क्षेत्र घोषणा गर्नुलाई आशंकाको रुपमा हेरिएको छ ।

एक जग्गा व्यवसायीका अनुसार वडा नं. ११ मा धनगढी विमानस्थल नजिक रहेको र धनगढी–स्याउले–दीपायल सडकखण्ड निर्माण भइरहेकाले सो क्षेत्रको खेतीयोग्य जमिनलाई प्लटिङमा लग्ने प्रयास भएको छ । संघ बनेसँगै जिल्ला प्रशासन, धनगढी उपमहानगरपालिका लगायत अन्य स्थानीय तहलाई पत्राचार गरिएको छ । संघले स्थानीय तहअन्तर्गत वडा कार्यालय, मालपोत कार्यालय लगायत सरोकार निकायलाई पत्राचार गरिएको जनाएको छ । धनगढी उपमहानगरपालिकाका ४ वडा बाहेक सबैमा जग्गा कित्ताकाट फुकुवा गरिएको छ ।

चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै उपमहानगरले १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको बुधबार बसेको कार्यपालिका बैठकले जनाएको थियो । यस विषयमा नगरप्रमुख हमालसँग बुझ्दा कार्यपालिकाको बैठकले १३ वटा वडाबाट आएको सिफारिस अनुसार जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको बताए । ‘चार वडाबाहेक उपमहानगरपालिकाका सबै वडाको जग्गाको कित्ताकाट फुकुवा गरेको हो,’ उनले भने । उनले वडाबाट आएको सिफारिसका आधारमा जग्गा कित्ताकाट फुकुवा गरिएकाले आफू कुनै भूमाफियाको चंगुलमा नफसेको जिकिर गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार १४:५४