दशैं आउन अब १५ दिनमात्र बाँकी छ र दशैं मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने नागरिकहरुको संख्या पनि ह्वात्तै बढिरहेको पाइन्छ । पैसा हुने नागरिक भनी बजार छिरिसकेका छन् र आफ्नो गाउँघर जान पनि तयारी अवस्थामा छन् । तर कति नागरिकहरु भने पैसा कै कारण सामान पनि किन्न पाएका छैनन् र दशैं मनाउन पनि आफ्नो गाउँघर जान पाएका छैनन् । अहिले दशैंका लागि आवश्यक सामानहरु किनमेल गर्नका लागि आफूले वर्षभरि गरेर जम्मा गरेको पैसा सहकारीमा निकाल्न गएमा त्यहाँ खाली हात नै पठाइन्छ । पछिल्लो समय सहकारी संस्थाहरुले बचतकर्ता नागरिकलाई पैसा फिर्ता दिइरहेका छैनन् । यसरी पैसा फिर्ता नदिँदा दशैं कसरी मनाउने भनेर सोच्दासोच्दै ती बचतकर्ता नागरिकको बिजोग भइरहेको छ ।
वर्षभरि आफूले खाइनखाई गरेर जम्मा गरी राखेको पैसा अहिले समस्या पर्दा वा चाडबाड आउँदा पनि निकाल्न नपाउँदा नागरिकहरु अन्योलमा परेका छन् । हामी नेपालीको महान् चाड दशैं हो र हामीहरु अरु चाडबाड नमनाए पनि दशैं भने मनाउँछौँ । तर आफूले दशैं मनाउनका लागि राखेको पैसा सहकारीले नदिएपछि नागरिकहरु दशैं कसरी मनाउने भनेर सोच्दै दुखी भइरहेका छन् । सहकारीहरुले हिजो नागरिकको पैसा लिने बेला तै घरघरमा पुगेर लियो तर फिर्ता गर्ने समयमा भने दाँतबाट नै पसिना निकाल्यो । पछिल्लो समय लाखौँ नागरिकहरु सहकारीमा आफुले राखेको पैसा निकाल्न नपाएर निराशा भएका छन् । सहकारीहरुले कर्जा त दिएन नै तर डिपोजिटले राखेको पैसा पनि फिर्ता दिएन ।
सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नदिँदा नागरिकलाई दुःख पनि भयो र चाडबाड पनि खल्लो भयो । अहिले सहकारीहरुमा नागरिकहरु आफ्नो बचत निकाल्नका लागि बिहानदेखि नै लाइन लागेर बसिरहेका छन्, तर सहकारीहरु भने टोकन नियम बनाइरहेका छन् र १५ दिनमा ५ हजार रकम लैजानुस् भनेर भन्ने गर्छन् । मानिसहरुले हिजो बढी ब्याजको प्रभोलनमा सहकारीहरुमा ५ लाखदेखि करोडसम्म जम्मा गरे तर अहिले न ब्याज नै पाए न साँवा नै । अहिले सहकारीको अफिसमा गएमा त्यहाँ अध्यक्ष र चेयरम्यान भेटिँदैन । त्यस्तै यता सहकारीमा काम गर्ने कर्मचारीहरु पनि डिपोजिटलाई सहकारीका जिम्मेवारी व्यक्तिलाई नै भेट्नुस् भनेर आफू पन्छिन् । दशैं हामी सबै नागरिकले मनाउँछौं, तर दशैं मनाउन आफूले खाइनखाइ राखेको पैसा भने सहकारी दिँदैन ।
जनताको यसपालिको दशैं सहकारीहरुले पैसा नदिएका कारण खल्लो हुनेछ । यसरी सहकारीहरुले नागरिकको पैसा वा बचत फिर्ता नगर्दा सहकारी विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित किन नागरिकको पैसा फिर्ता नगर्ने सहकारीलाई कारबाही पनि गर्दैनन् र नागरिकलाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत पनि गराउँदैनन् । सरकारको लापरबाही वा सहकारी विभागका महानिर्देशक सहकारीहरुसँग लम्पसार पर्दा आज नागरिकको पैसा पनि डुब्ने भयो र नागरिकहरुले पनि दुःख पाइरहेका छन् । यस्तो हुँदै पनि सहकारी विभाग किन निरिह भएर बसिरहेको छ । सहकारमिा पैसा राख्ने नागरिकहरुको रातको निन्द्रा र दिनको भोक पनि मेटिसकेको छ । उनीहरु रुँदै हिडिरहेका छन् ।
उनीहरु दशैं त आयो, तर कसरी बालबच्चालाई नयाँ कपडा किनिदिने र खानेकुरा दिने भनेर सोच्दै रुन्छन् । उपत्यकाको चोकचोकमा वा कंलकी, बल्खु, कोटेश्वर, गंगबुमा नागरिकहरु आफ्नो गाउँघर जानका लागि लर्को लागेर बसिरहेका छन् । कति नागरिकहरु भने आफूले सहकारीमा राखेको पैसा सहकारीले नदिएपछि ऋण खोजेर आफ्नो गाउँघर दशैं मनाउन जान लागेका छन् भने कति नागरिकहरु सहकारीले आफ्नो पैसा नदिएको र ऋण खोज्दा पनि नपाएकाले यसपालि दशैं मनाउन आफ्नो गाउँघर जान नपाएको भन्दै गुनासो गर्छन् । वर्षमा एकपटक मात्रै आउने र हामी सबै हिन्दुधर्मलम्बीहरुले मनाउने चाड भनेको नै दशैं हो । दशैंमा हामी सबैले आफ्नो गाउँघर गएर आफन्त भेटघाट गर्छौ र रमाइलो गर्छौ ।
यसपालिको दशैं नागरिकले मनाउन नपाउने भएका छन् र यो सबै सहकारीकै कारण हुँदैछ । यसरी नागरिकमाथि सहकारीहरुले खेलबाड गर्दा सरकार किन यिनीहरुलाई कारबाही गर्दैन । किन मौन बस्छ, सरकार । साथै सहकारी विभागले पनि सहकारीहरुसँग आर्थिक लेनदेन गरेर वा सञ्चालक वा अध्यक्षले राजनीतिक पार्टीको झोला बोकेर शक्ति केन्द्र धाएर नागरिकको बचत फिर्ता गरेका छैनन् र उनीहरुलाई दुःख दिने काम गरिरहेका छन् । पछिल्लो समय दिनहुँ १० ओटा सहकारीहरु नागरिकको बचत लिएर भोगेको भनेर बजारमा सुनिन्छ । जति सहकारीहरु बजारमा सञ्चालनमा छन् ती सबैले नागरिकको बचत फिर्ता दिएका छैनन् र नागरिकको बिजोग भइरहेको छ । अहिले नै सहकारीहरुको यस्तो अवस्था देख्दा त अबको एकवर्षमा दशैंभरिको सहकारीहरु भाग्छन् जस्तो देखिन्छ ।
अबको एकवर्षपछि झन् बढी नागरिकहरुको घरमा रुवाबासी हुने छ र सहकारी डुबेर देशको अर्थतन्त्रमा पनि ठुलो आर्थिक संकट आउने छ । पछिल्लो समय बजारमा बच्चादेखि बुढोले सहकारीमा पैसा राख्नुहुँदैन भनेर भन्छन् । जताततै बजारमा अहिले एउटै हल्ला रहेको पाइन्छ । त्यो हो, सहकारी भाग्यो, पैसा खाइदियो । तर सहकारीहरु कसरी डुब्यो र किन भाग्यो भनेर सरकारले अहिलेसम्म गहिराइमा गएर अध्ययन गरेको छैन । सहकारीहरुले पहिला ३ देखि ५ प्रतिशत सेवा शुल्क र २२ देखि ४२ प्रतिशत वा मिटर ब्याजमा कर्जा प्रवाह गर्यो । साथै घरजग्गा, गाडी र सेयरलाई आँखा चिम्लेर कर्जा प्रवाह गर्यो । सय रुपैयाँमा बैंकले निष्कासन गरेको सेयरलाई धितो राखेर २ हजारसम्म कर्जा प्रवाह गर्यो ।
साथै सरकारले आनाको ५ लाख निर्धारण गरेको जग्गालाई धितो राखेर ४० लाखसम्म कर्जा दियो । र २० रुपैयाँ किलोमा बिक्री नहुने फलाम वा सवारीसाधनलाई धितो राखेर लाखौँ कर्जा दियो । तर यसमा पनि सहकारीका सञ्चालक, अध्यक्षहरुले घुस खाएर कर्जा प्रवाह गरे । उदाहरणका लागि १ लाख रुपैयाँ धितो राखेर कर्जा दिएमा त्यसमा २० हजार यिनीहरुले घुस खाने गर्थे । पछिल्लो समय बजारमा मन्दी आएकाले एक वर्षअघि मात्र ३ हजार रुपैयाँमा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री हुँदैन जसले गर्दा अहिले सेयरमा आफ्नो सम्पूर्ण लगानी गर्ने नागरिकहरुको घरमा रुवाबासी चलिरहेको छ । खरिद गर्ने कोही छैन भने बिक्री गर्न चाहाने नागरिकहरु हजारौं भेटिन्छन् ।
त्यस्तै यता दुई वर्षअघि मात्र ४० लाखमा किनेको जग्गा अहिले ३ लाखमा बिक्दैन र एक वर्षअघि २० लाखमा किनेको सवारीसाधन अहिले २ लाखमा बिक्री हुँदैन । सहकारीहरुले भने खाली यही घरजग्गा, सेयर र गाडीमा लगानी गर्यो, तर यसरी यी चिजहरुको मूल्य घटेपछि सहकारीबाट ऋण खाने त चुलुम्ब नै डुबे भने सहकारी र बैंकहरु पनि आज डुब्ने अवस्थामा पुगे । पछिल्लो समय वित्तिय संस्थाहरुमा डिपोजिटकर्ताको लर्को लागिरहेको पाइन्छ । तर बैंकहरु भने डिपोजिटलाई पैसा निकाल्न नदिनका लागि नागरिक अनुसार १४ देखि १८ प्रतिशत ब्याज दिन्छु भनिरहेका छन् । भने यता सहकारीहरु पनि नागरिकअनुसार २० देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर भनिरहेको कुरा पनि बजारमा सुनिन्छ । अहिले वित्तिय संस्थामा डिपोजिटहरु पैसा निकाल्न गएमा त्यहाँ पानी, चिसो खुवाउने र ब्याज बढाइदिन्छु मात्र भनिरहने भनेर नागरिक नै बताउँछन् ।
अहिले पनि कति सहकारीहरुले महंगो ब्याजको प्रलोभनमा नागरिकको पैसा बजारबाट उठाइरहेका छन् । कति सहकारीको कार्य समितिमा बस्ने सञ्चालकहरु सहकारी डुबेर वा भागेर कार्य समितिबाट मेरो नाम हटाइदिनुस् भनेर सहकारी विभाग दिनहुँ जस्तो धाइरहेका छन् । त्यसैगरी सहकारीमा सञ्चालकका रुपमा बस्ने नागरिकहरु सहकारी डुबेमा आफ्नो सम्पत्ति बेचेर नागरिकको पैसा फिर्ता गर्नुपर्छ भनेर आफ्नो सम्पत्ति पनि आफ्नो आफन्तको नाममा पास गर्दैछन् भनेर पनि सुनिन्छ । अहिले सहकारीमा न अध्यक्ष भेटिन्छ न सञ्चालक नै । सहकारीमा काम गर्ने कति कर्मचारीहरु एक वर्षदेखि तलब नपाएको र घरधनीहरुले पनि एकवर्ष देखि भाडा नपाएको भनेर गुनासो गर्छन् । सहकारीमा पैसा राख्ने नागरिकहरु अहिले सहकारीमा गएर ब्याज चाहिँदैन बरु साँवा मात्रै दिनुस् भनेर भनिरहेका छन् तर सहकारीहरु पैसा फिर्ता दिदैँनन् ।
पछिल्लो समय सहकारीहरुको यस्तो स्थिति वा अवस्था देखेर नागरिक र व्यापारीहरुले पनि सहकारीमा पैसा राख्न छोडिसकेका छन् । तर बजारबाट कति बजार प्रतिनिधिहरुले धेरै थोरै नागरिकको पैसा उठाइ रहेका छन्, तर उनीहरु त्यो रकम कार्यालयमा नलगी आफ्नो तलबको रुपमा काट्दै घरतिर लैजाने भन्ने कुरा पनि सुनिन्छ । पहिला एक सहकारीका एक बजार प्रतिनिधिले दिनहुँ बजारबाट १ लाखदेखि ३ लाखसमेत उठाउन्थे भने अहिले दिनहुँ ३ देखि ५ हजारसमेत उठाउन सकिँदैन भनेर सहकारीकै कर्मचारी वा बजार प्रतिनिधिहरु बताउँछन् । सहकारीहरुले अहिले ५ हजारको पनि चेक साट्दैन भनेर बजारमा सुनिन्छ । सहकारीकै कारण धेरै नागरिकको पैसा डुब्दैछ भने धेरै सुकुम्बासी हुँदैछन् । सहकारीमा आफ्नो पैसा निकाल्न नागरिकहरु दिनहुँ सहकारीमा धाइरहेका छन्, तर सहकारीले पैसा फिर्ता दिँदैन ।
कति सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नगरेपछि त्यहाँ आन्दोलन नै सुरु भइसकेको छ । कति सहकारीमा पैसा निकाल्न लहुरो टेक्ने बुढाबुढीदेखि बच्चा भएका महिलाहरु पनि धाइरहेका छन् । अब झन् सहकारीहरुको अवस्था नाजुक हुनेछ किनभने अब नागरिकले सहकारीमाथि विश्वास गर्दैनन् । अब सहकारीहरुसँग लगानी गर्ने पैसा पनि हुँदैन । पैसा हुन्जेल पहिला सहकारीका अध्यक्ष वा सञ्चालकले नागरिकलाई मिटर ब्याजमा पैसा लगाएर वा दिनको १ लाखको १ हजार ब्याज लिएर र १ लाख ऋण दिएमा ७० हजार दिने र ३० हजार सुरुमै ब्याज काट्ने गरेर ठगे । यसरी यिनीहरुले नागरिकलाई ठग्नसमेत ठगेका छन् । तर नागरिकको नै पैसा नागरिकलाई नै सस्तो ब्याजमा कर्जा प्रवाह नगरी महंगो ब्याज र सेवा शुल्कमा लगानी गरे । यिनीहरुले नागरिकले राखेको पैसाको भने थोरै ब्याज दिने तर त्यहीँ पैसा कर्जामा लगानी गरेर घुस खाने र महंगो ब्याज खाने गर्छन् ।
सहकारी वा बैंकबाट महंगो ब्याजमा ऋण लिएका नागरिकले ऋण तिर्न नसकेर सहकारी र बैकले उनीहरुको धितो नै सबै खाइदिएका छन् । जसले गर्दा नागरिकहरुले आत्महत्या पनि गरे र भाग्न पनि सुरु गरे । पहिला पहिला गाउँघरमा रहेका शोषक वा सामान्तीहरुले १ लाख पैसा दिएमा १० लाखको तमसुक गराउथे र गरिबीको घरजग्गा नै सबै खाइदिन्थे । अहिले सहकारी र बैंकहरुले पनि ठ्याकै त्यही काम गर्न सिके र गरे । बैंकले १ करोडको धितो छ भने ४० देखि ५० लाख रुपैयाँ दिने तर त्यसमा पनि धितो रोक्का गरेर वा १० प्रतिशत घुस खाएर । साथै १८ प्रतिशत ब्याज र २ प्रतिशत सेवा शुल्कमा लिने र ६ कित्ता नतिर्ने बित्तिकै कालोसूचीमा राखेर वा पत्रिकामा निकालेर त्यो १ करोडको धितो ५० देखि ६० लाखमा नै खाइदिने गर्छन् ।
पछिल्लो समय मिटरब्याज कै कारण आम नागरिकहरु माइतीघरमा आन्दोलन गरिरहेका छन् । त्यस्तै सहकारीले १ करोडको धितो छ भने ७० देखि ८० लाख कर्जा प्रवाह गर्ने तर त्यसमा पनि १० लाख घुस, सेवा शुल्क ५ प्रतिशत र २० प्रतिशत ब्याज भने पनि लिने समयमा ४२ प्रतिशत लिने गर्छन् । साथै ३ कित्ता नतिरेमा त्यो धितो नै सबै खाइदिने गर्छन् । बैंक र सहकारी भनेको नागरिक ठग्ने संस्था हुन् भनेर अहिले नागरिकहरु नै बताउँछन् । त्यसकारण पछिल्लो समय नागरिकहरुमा सहकारीमाथिको विश्वास गुमिसकेको छ । वित्तिय संस्था भनेको नै नागरिकलाई लुट्न र ठग्न खोलिएको संस्था हो भनेर नागरिकको मनमा छाप परिसकेको छ ।
रुषा थापा ।