बाँकेको बैजनाथ गाउँपालिकामा पशु अस्पताल निर्माण सुरु गरिएको छ । पशुपालनमा राम्रो सम्भावना बोकेको बैजनाथ गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरेर अस्पताल निर्माण गर्न लागेको हो ।
बैजनाथ गाउँपालिकाले निर्माण गर्न लागेको पशु अस्पताल जिल्लाकै पहिलो पशु अस्पताल बन्नेछ । पशु अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले शुक्रबार संयुक्त रुपमा शिलान्यास समेत गरेका छन् ।
गाउँपालिकाको ११ औं गाउँसभाले चालू आर्थिक वर्ष २०७९–०८० को बजेटमार्फत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो । ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ कार्यान्वयन गर्न अन्र्तगत पशु अस्पताल भवनको शिलान्यास गरिएको गाउँपालिकाले जनाएको छ ।
कुल ४८ लाख ४६ हजार रुपैयाँको लागतमा पशु अस्पताल भवन निर्माण हुनेछ । तोकिएको समयभित्र पशु अस्पताल भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष शाहीले निर्माण सम्पन्न भएलगत्तै सेवा सञ्चालनमा ल्याउने जानकारी दिए ।
‘समयमै भवन बनेपछि यहाँबाट सेवा प्रवाह गर्न समेत सहज हुन्छ,’ अध्यक्ष शाहीले भने, ‘तोकिएको समयमा यो भवन निर्माण हुनुपर्छ ।’ अस्पताल सञ्चालनमा आएपछि पशुपालन गर्दै आएका किसानलाई एकै स्थानबाट सबै सेवाहरु लिन सजिलो हुने उनले बताए ।
गाउँपालिका उपाध्यक्ष रोकायले पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालन किसानलाई सहज हुने बताइन् । ‘बैजनाथ पशुपालनमा राम्रो सम्भावना बोकेको स्थान हो,’ उनले भनिन्, ‘निर्धारित समयमै अस्पताल सञ्चालनमा आएपछि यहाँका किसानलाई सजिलो हुनेछ ।’
अस्पताल सञ्चालनमा आएपछि पालिकाभित्रका किसानले पशुपक्षीका एक्सरे, भिडियो एक्सरे, ल्याब, शव परीक्षण लगायतका सेवा लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने र पालिकाभित्रका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।
पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुनेछ भने इक्युपमेन्ट, औजार अभावमा पशुपक्षीको हचुवाका भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य भई पशुजन्य उत्पादनमा समेत वृद्धि हुने गाउँपालिकाको विश्वास छ ।
अस्पताल निर्माणपछि पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए पशुजन्य उत्पादनमा समेत वृद्धि हुने जनाइएको छ । नदेखिने जुका, माटेजस्ता रोगले दूध तथा मासु उत्पादन घट्ने हुँदा त्यस्ता रोगको पहिचान गरी समयमा औषधोपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि गर्न सकिने जनाइएको छ ।
सत्यपाटी । बाँके ।