सूचनाको शक्ति - The Power Of Information

        

निलम्बित प्रधानन्यायाधीशले नाम लिएकासँग आज सोधपुछ

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ ।

आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरुले भने समितिमा छलफलका लागि उपस्थित नहुने जानकारी गराएका छन् । हिजो बसेको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले बहालवाला न्यायाधीशसँग सोधपुछ गर्ने काम शक्ति पृथकीकरणको सिद्धान्त र संविधानको मर्म प्रतिकुल हुने निष्कर्ष निकालेको थियो ।

जबराले नाम लिएका व्यक्तिहरुसँगको छलफलका लागि महाभियोग सिफारिस समितिको बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । जबराले नाम लिएका व्यक्तिहरूसँगको छलफलपछि समितिले पुनः जबरासँग थप प्रश्न गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०९:३९