सूचनाको शक्ति - The Power Of Information

        

तीन वर्षपछि आज खुल्दै रसुवागढी–केरुङ नाका

कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ । चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्ने छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश प्राप्त भएको बताए । सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नुपरेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ । चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

खनालका अनुसार नेपालले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आए पनि चीनले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । कोरोना संक्रमण सुरु भएसँगै दुवै नाका तीन वर्षदेखि बन्द थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०९:३२