सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि पेट्रोलिय ढुवानी सुचारु हुने

 नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले हड्तालका कार्यक्रम फिर्ता लिएर पेट्रोलियम पदार्थ ढुवानी पूर्ववत रुपमा संचालन गर्न थालेका छन् ।

महासंघ र नेपाल आयल निगमबीच बुधबार साँझ सहमति भएपछि पेट्रोलियम ढुवानी सुरु भएको हो ।

महासंघका माग असोज ७ गतेसम्म पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम फिर्ता भएको जनाइएको छ ।

महासंघ २०७३ सालपछि डिजेल बाहेकका अन्य संचालन खर्च नबढाएको भन्दै हड्तालमा उत्रिएको थियो ।

यही भदौ २४ गतेदेखि भारतमा तेल लिन जान उनीहरुले रोकेका थिए । अति आवश्यक वस्तुभित्र पर्ने पेट्रोलिय पदार्थको ढुवानी व्यवसायीले आफूखुशी रोकेका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पेट्रोलियम पदार्थको ढुवानी भाडा वृद्धि गर्ने गरि लगिएको प्रस्ताव मुख्य सचिव शंकर दास बैरागीले रोक्नुभएको थियो ।

मुख्यसचिवले निगम सञ्चालक समितिले नै भाडा वृद्धिको निर्णय गर्न सक्ने भन्दै फाइल फिर्ता गरिदिनुभएको थियो । ढुवानी भाडा वृद्धि गर्ने प्रस्तावमा अर्थ मन्त्रालय पनि सहमत नरहेको बुझिएको छ ।

तर आपूर्ति मन्त्री दिलेन्द्र वडूले भने व्यवसायीहरुलाई भाडा वृद्धिको आश्वासन दिनुभएको बुझिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०९:३१