सूचनाको शक्ति - The Power Of Information

        

एउटै कर्मचारीलाई दुई कार्यालयबाट तलब

पाल्पा अस्पतालमा अहेवका रूपमा कार्यरत स्वास्थ्यकर्मी अरुण कार्कीले दुईवटा सरकारी कार्यालयबाट तलब भत्ता बुझ्ने गरेको पाइएको छ । उनले पाल्पा अस्पताल र तानसेन नगरपालिकाबाट एकै समयमा हाजिर गरी तलब बुझ्ने गरेका हुन् ।

विगत पाँच वर्षदेखि अस्पतालमा कार्यरत कार्की गत वर्षको फागुनदेखि तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा पनि कार्यरत रहेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताए ।

अहेव कार्कीले अस्पतालमा राति र नगरपालिकामा दिउँसो काम गरेकाले दुई वटै सरकारी कार्यालयबाट तलब बुझ्दै आएको बताउँछन् । कानुनी रूपमा एकै समयमा दुई वटा सरकारी कार्यालयमा कार्यरत रहन नमिल्ने व्यवस्था भए पनि अहेव कार्कीले भने सो सेवा सुविधा लिइरहेका छन् ।

नगरपालिकाका सूचना अधिकारी आचार्यले एउटै व्यक्ति दुई वटा सरकारी कार्यालयमा कर्मचारीका रूपमा कार्यरत रहेको विवादपछि केही दिनदेखि कार्कीलाई हाजिर हुन नदिएको बताए ।

सरकारी सेवामा कार्यारत कुनै पनि व्यक्तिले दोहोरो सुविधा लिन पाउने व्यवस्था छैन । डेढ वर्षअघि कार्कीलाई तानसेन नगरपालिकाको अहेव पदमा करारमा नियुक्त गरेको थियो । पाल्पा अस्पतालमा भने २०७५ सालदेखि नै स्थायी सेवामा कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०८:४३