सूचनाको शक्ति - The Power Of Information

        

मौसम

मेघगर्जन र चट्याङसहित पाँच वटा प्रदेशमा भारी वर्षा

सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

देशका केही भू–भागमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश–१, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै सडक तथा हवाई यातायातमा सामान्य प्रभावित हुने विभागको भनाइ छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०८:२३