बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचारबारे जानकारी गराउँदै निरोगी बन्न प्रेरित गर्न शिविरमार्फत गाउँगाउँमा पुगेर सेवा प्रवाह अभियान सञ्चालन गरिएको छ ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा.अनिलकुमार चौधरीले जानकारी दिए । उनका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा आयुर्वेद स्वास्थ्य उपचार पुर्याउन नियमित रुपमा शिविर सञ्चालन हुँदै आएको छ । यस्तो अभियानले ग्रामीण क्षेत्रका जनताले आफ्नै गाउँठाउँमा आयुर्वेद स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।
स्थानीय तहमा रहेका आयुर्वेद शाखाको समन्वय र सहकार्यमा ग्रामीण क्षेत्रमा पुगेर शिविर सञ्चालन गर्ने गरिएको डा चौधरीले बताए । शिविरमार्फत ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह, मोटोपन, अर्श, अर्बुद, मिर्गौला तथा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य सेवा दिने गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ मा हालै आयोजना गरिएको आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सेवा र परामर्श दिइएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रकी डा.गीता रेग्मीले जानकारी दिए ।
उनका अनुसार शिविरमा व्यक्तिको उमेर अनुसारको तौल भए नभएको, सुगरको अवस्था र मात्राबारे जानकारी, हुनसक्ने सम्भावित रोगबारे जानकारी दिई निदानका लागि आवश्यक परामर्श दिने गरिएको छ । शिविरमार्फत रोग नियन्त्रणका लागि अपनाउनुपर्ने खानपान र योग अभ्यासबारे जानकारी दिने र त्यसपछि १५ दिनसम्म आयुर्वेदकै नेतृत्वमा योगाभ्यास सञ्चालन गर्ने गरिएको छ ।
पन्ध्र दिनपछि पुनः शिविर सञ्चालन गरी अघिल्लो शिविरमार्फत मापन गरिएको सुगरको मात्रा, तौल लगायतको अवस्था बुझी पुनः गर्नुपर्ने कार्य सुझाउने गरिएको डा.रेग्मीको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गर्ने शिविरमा स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको छ । गाउँघरमा आयुर्वेद उपचारको महत्व बुझाउन ग्रामीणस्तरमा शिविर सञ्चालन गर्ने गरिएको अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले बताए ।
सत्यपाटी । बाँके ।