सूचनाको शक्ति - The Power Of Information

        

‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेती ‘हब’को रूपमा विकसित हुँदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्त्वपूर्ण क्षेत्रको रूपमा विकास हुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेती हबको रूपमा विकसित भएको हो ।

ल्याबमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवाले केरा उत्पादनमा वृद्धि हुने भएपछि किसानहरू त्यस्तो प्रविधिमा आकर्षित भएका हुन् । राष्ट्रिय गौरवको आयोजना रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईले केरा किसानहरूलाई अनुदान कार्यक्रममा सहयोग पुर्याउँदै आएको छ ।

अनुदान कार्यक्रमबाट किसानलाई ‘टिस्यु कल्चर’ प्रविधि केराका बिरुवा स्थानीयस्तरमा पाउन थालेपछि यसको खेतीमा किसानहरूको थप आकर्षण बढ्दै गएको छ । केरा खेतीका लागि प्रख्यात रहेको टीकापुर क्षेत्रमै ‘टिस्यु कल्चर’ प्रविधिका बेर्नाहरू सहज रूपमा पाउन थालेपछि यहाँका किसानलाई सहज भएको छ ।

टीकापुरका केरा किसान टेकेन्द्र धामीले पाँच वर्ष पहिलेबाट ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादित बिरुवाका लागि हाइटेक नर्सरी निर्माण गर्नु भएको छ । उक्त नर्सरीबाट उत्पादित बिरुवा टीकापुर लगायत नेपालका विभिन्न क्षेत्रमा बिक्रिवितरण हुने गरेको छ । ‘मैले सुरु गर्दा नवलपरासीसम्म बिरुवा निर्यात गरेको थिए,’ व्यवसायी धामीले भने, ‘अहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन अन्य ठाउँमा पनि सुरु भएपछि निर्यात घटेको छ ।’

के हो टिस्युकल्चर प्रविधि ?

‘टिस्यु कल्चर’ एउटा स्वास्थ्य बिरुवाको निकै सानो कोष (सेल)बाट हजारौँ बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वास्थ्य बिरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इन्जिनियर (प्राविधिक)ले बिरुवा उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा नियमित ‘केमिकल’को प्रयोग गरेर हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौँ बिरुवा उत्पादन गर्न सकिने धामी बताउँछन् ।

बिरुवाको कोषलाई हुर्काउन एउटा ल्याबमा ६ महिनासम्म लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै तीन महिनासम्म बिरुवा हुर्काइन्छ । तीन महिनासम्म ल्याबमा हुर्किएको बिरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो, त्यही ठाउँमा ‘ग्रिनहाउस’ निर्माण गरेर राख्ने गरिन्छ । झण्डै तीन महिना ‘ग्रिनहाउस’ नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ ।

कृषि विज्ञ तथा रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख गोविन्दराज जोशीका अनुसार ‘टिस्यु कल्चर’ बिरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ । ‘अत्याधुनिक बायोटेक ल्याबभित्र नियमित केमिकलको सहायताले हुर्किने हुनाले एक वर्षमा बिरुवा रोप्नको लागि तयार हुन्छ,’ जोशीले भने, ‘नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले ‘टिस्यु कल्चर’ बिरुवा अन्यको तुलनामा रोग कम लाग्ने, फल बढी दिने, रोगसँग लड्ने क्षमता बढी हुने हुन्छ ।’

उनका अनुसार पनि किसानको यस खालको प्रविधिबाट केरा खेतीमा आकर्षण बढ्दै गएको देखिन्छ । यसरी ‘टिस्यु कल्चर’ प्रविधिबाट हुर्किएको बिरुवालाई विभिन्न देशहरूमा पु¥याउन सजिलो हुन्छ । निकै सानो आकारमा बिरुवा रहने भएकाले ढुवानीमा सजिलो हुने इकाई प्रमुख जोशी बताउँछन् । केरा मात्र नभई फलफूलका अन्य बिरुवाहरू समेत ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गर्न सकिने जोशी बताउँछन् ।

टीकापुरमा कसरी सुरु भयो ‘टिस्यु कल्चर’ बिरुवा ?

उन्नत बीउ अभावका कारण अपेक्षा अनुसार केराखेती फस्टाउन नसकेपछि टीकापुर नगरपालिका वडा नं.४ का केरा किसान टेकेन्द्र धामीले केराको बिरुवा उत्पादनलाई प्राथमिकता दिए । सिँचाइ आयोजनाको समन्वयमा धामीले भारतको गुजरातस्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट ‘टिस्यु कल्चर’ प्रविधि सम्बन्धी तालिम लिएर फर्केपछि यस प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन् ।

तालिम पश्चात् आयोजनाले हाइटेक नर्सरी निर्माणका लागि ५० प्रतिशत अनुदानमा धामीले ‘टिस्यु कल्चर’ बिरुवा उत्पादन सुरु गरेका थिए । धामी आफूले यस क्षेत्रमै पहिलो पटक ‘टिस्यु कल्चर’ प्रविधिको बेर्ना बिरुवा लगाएको दाबी गर्छन् । केराको बिरुवा उत्पादन सुरु गरेका धामीको आम्दानी मात्रै राम्रो छैन । उनले स्थानीयस्तरमै बिरुवा उपलब्ध गराउँदा कैयौँ युवाहरू केरा खेतीमा आकर्षित भएका छन् ।

‘पहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केरा खेती हुन्थेन, अहिले निकै लोकप्रिय बनेको छ,’ धामीले भने, ‘यो वर्ष रु.दुई लाख ५० हजार बेर्ना बिक्री गरेका थियौँ ।’ धामीका अनुसार अत्याधुनिक ल्यावबाट उपचारपछि उत्पादन गरिएका केराका बिरुवा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले किसानको आकर्षण बढ्दै गइरहेको छ ।

‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता बढी हुँदा केराको उत्पादकत्व वृद्धि हुनाले यो प्रविधिमा किसानको निकै आकर्षण बढ्दै गएको केरा व्यवसायी हिक्मत विश्वकर्मा बताउँछन् । नर्सरीले उत्पादन गरिरहेका ‘विलयम’ र ‘जीनाइन’ जातका केरा कम समय र लगानीमा धेरै उत्पादन हुने गरेको केरा किसानहरू बताउँछन् ।

‘टिस्यु कल्चर’ प्रविधिका बिरुवाबाट छोटो समय र थोरै लगानीमा राम्रो उत्पादन पाएका छौँ, केरा व्यवसायीका लागि यो प्रविधि निकै लोकप्रिय नै बन्यो । केरा व्यवसायी विनोद शाहले भने । ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएसँगै यस क्षेत्रमा केरा किसानहरूको सङ्ख्या समेत थपिँदै गएको छ ।’ कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख गोविन्दराज जोशीले भने ।

टीकापुरको हकमा यो प्रविधि भित्र्याउन आयोजनाले किसानलाई अनुदानसमेत दिँदै आएको उनले बताए । आयोजनाले किसानहरूलाई केराको बेर्ना खरिदमा ५० प्रतिशत अनुदान समेत प्रदान गर्दै आएको इकाइ प्रमुख जोशी बताउँछन् । उनले आयोजनाले टीकापुरलाई केरा खेतीको हवको रूपमा विकास गर्नकै लागि वार्षिक अनुदान दिँदै आएको बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १७:१३