सूचनाको शक्ति - The Power Of Information

        

मत–अभिमत

एमालेलाई फेरि भोट किन दिने ?

आगामी निर्वाचनमा एमालेलाई जनताले भोट दिएर ठुलो पार्टी बनाउने केपी ओलीका लागि सपनामात्रै हुनेछ । किनकी अहिले परिस्थिति निकै बदलिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय विभिन्न कार्यक्रममा एमाले पार्टीले चुनाव नजितेको खण्डमा देश नै सिद्धिन्छ भन्दै भाषण गर्दै हिँडिरहेका छन् । एमालेको चुनावी नारा नै अहिले एमाले नजिते देश डुब्छ भन्ने रहेको छ । अनि २०७४ सालमा जनताले भोट दिएर एमालेलाई पहिलो पार्टी बनाउँदा खै देशमा के विकास भयो ? अब पनि नेपाली जनताले एमालेलाई भोट दिएर सत्तामा पुर्याउँछ भन्ने ओलीको दिउँसोको सपना मात्रै हो ।

२०७० सालको चुनावमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल कार्यक्रममा अतिथि भएर जाँदा काँग्रेस, एमाले, राप्रपा, मधेशी दलका कार्यकर्ताहरु उनको कार्यक्रममा जम्मा हुने गर्थे । यसरी कार्यक्रममा धेरै मानिसहरु जम्मा भएको देखेर माओवादीका अध्यक्ष दाहाल हामी नै चुनाव जित्छौँ भनेर मख्ख परेर आकाशमा उडिरहेका थिए । तर त्यस समयको चुनावमा जनताले माओवादी पार्टीलाई भोट दिएनन र सानो पार्टी बनाइदियो । २०६४ सालमा माओवादीले प्रत्यक्षरुपमा १२१ सिट जित्यो र पहिलो पार्टी बन्यो । तर २०७० सालमा चौथो पार्टी बन्यो ।

अब एमाले पार्टीको हालत पनि माओवादीको जस्तै हुनेछ । २०७४ सालमा एमाले पार्टीले चुनाव जित्यो र पहिलो पार्टी बन्यो, तर २०७९ मंसीर ४ गतेभन्दा पछिको चुनावपछि एमाले पनि चौथो दलका रुपमा सदनमा हुनेछ । आगामी निर्वाचनमा एमालेलाई जनताले भोट दिएर ठुलो पार्टी बनाउने केपी ओलीका लागि सपनामात्रै हुनेछ । किनकी अहिले परिस्थिति निकै बदलिएको छ । पछिल्लो समय एमाले पार्टीले कार्यक्रम राखेको वा त्यो कार्यक्रममा केपी ओली अतिथिका रुपमा गएको ठाउँमा सबै माओवादी, राप्रपा, काँग्रेस र मधेशी दलका कार्यकर्ता मात्रै भेला भइरहेका छन् । ओलीले के भन्लान् भनेर विभिन्न पार्टीका कार्यकर्ताहरु आएर सुनेर बसिरहेका छन् ।

तर ओली भने मानिसहरु धेरै जम्मा भएको देखेर अब चुनाव हाम्रै पार्टीले जित्छ भनिरहेका छन् । विभिन्न पार्टीका कार्यकर्ताहरु बुझ्न वा सुन्न एमालेको कार्यक्रममा आएको भनेर ओलीलाई अहिलेसम्म थाहा छैन । जसरी माओवादी पार्टीलाई २०७० सालको चुनावमा भोट नदिएर जनताले पछारेका पुर्याएका थिए त्यसरी नै अबको चुनावमा जनताले एमाले पार्टीलाई भोट नदिएर भित्तामा पछार्नेछन् । आगामी चुनावपछि ओली प्रधानमन्त्री बन्ने सपनाको त कुरै छोड्दिऊ अरु पार्टीसँग मिलेर सरकारमा गएर एउटा दुईटा मन्त्रालय मात्रै पाउन सक्लान् ।

पछिल्लो समय सार्वजनिक स्थलहरुमा जनताको कुरा सुन्दा यसपालि एमाले पार्टीले बढीमा २२ देखि २४ सिट जित्छ । तर एमाले पार्टीलाई अब पनि जनताले भोट दिएर के काम ? जनताको भोटबाट चुनिएर गएको सांसदले मन्त्री पाउँदैन । एमाले पार्टीले टिकट दिएर उम्मेदवारका रुपमा उठेका मानिसहरुलाई २०७४ सालमा जनताले भोट दिएर विजय गराएका थिए, तर जनताको भोटबाट चुनिएर आएको प्रतिनिधि वा सांसदले मन्त्री पाएनन् । तर बिसौँ वर्ष सरकारी जागिर खाएर अपुग सम्पत्ति कमाएका वा अवकाश भएका सरकारी कर्मचारी युवराज खतिवडालाई अर्थमन्त्री बनाइदिए ।

युवराज खतिवडाले न चुनाव नै लडेका थिए न उनलाई जनताले भोट दिएर अर्थमन्त्री नै बनाएका थिए । जनताको भोटलाई अपमान गर्ने र जनताबाट चुनिएर आएको सांसदलाई मन्त्री पद नदिने पार्टीलाई पनि अब जनताले भोट देलान् ? अघिल्लो दिनसम्म राप्रपाको नेता रहेका कोमल ओलीलाई भोलिपल्ट एमालेको टिकट दिएर सांसद बनाइदिए । तर एमाले पार्टीमा बिसौँ वर्ष काम गरेका वा जनताको हितमा सालौँ काम गरेका मानिसलाई सांसद पनि बनाएनन् । आफ्नै पार्टी मिलाउन नसक्ने एमालेलाई पनि के अब जनताले भोट दिन्छन् त ।

ओली प्रधानमन्त्री हुँदा जनताले तिरेको कर सबै आफ्नो क्षेत्र झापामा मात्र पोख्थे । अन्य दलबाट चुनाव जितेर आएको सांसदहरुले प्रधानमन्त्री केपी ओलीले हाम्रो क्षेत्रमा बजेट दिएन वा अर्थतन्त्र युवराज खतिवडाले हामीले चुनाव जितेर आएको क्षेत्रमा बजेट दिएन भन्दै माओवादीबाट सांसद जितेर आएका जुम्लाका गजेन्द्रबहादुर महत अस्ति मात्र सदनमा गुनासो गरिरहेका थिए । अन्य जिल्लाबाट सांसद पद जितेर आएकाले प्रधानमन्त्री वा अर्थमन्त्रीको विरोधमा बोल्न सकेनन्, तर जुम्लाबाट सांसद पद जितेर आएका महत सदनमा नै उभिएर रुदै ओली र खतिवडाले गरेको यस्तो नराम्रो व्यवहारका विरोधमा बोले ।

महतले सदनमा उभिएर रुदै भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट नदिएकाले मैलैँ जनताको हितमा काम सकिँन, जुम्लाको विकास गर्न सकिनँ र अब म त्यहाँका जनतालाई के भन्ने ?’ महत रुँदा जुम्लाका जनताको मात्र चित्त दुखेको थिएन, देशैभरिका जनताको मन दुखेको थियो । जनताले दिएको जिम्मेवारी पूरा गर्न नसकेको र प्रधानमन्त्री वा अर्थमन्त्रीको विरोधमा यसरी बोल्न सक्ने महत नै पहिलो सांसद हुन् । यसरी प्रधानमन्त्री र अर्थमन्त्रीका नराम्रो गतिविधिका बारेमा तथा जनताको हितमा बोल्ने सांसदलाई माओवादीले मन्त्री पद दिएन ।

आगामी चुनावमा महतले चुनाव लडेको खण्डमा उनलाई जुम्लाका जनताले त विजय बनाउँछन्, तर माओवादी पार्टीले उनलाई टिकट दिन्छ कि दिँदैन भनेर हेर्न मात्र बाँकी छ । जुम्ला पनि नेपालमै पर्छ होइन र ओली ज्यू भनेर अहिले जुम्लाका जनता ओलीलाई प्रश्न गर्छन् । तर ओलीले खाली जनताले तिरेको कर भक्तपुरको महेश बस्नेतको २ नम्बर क्षेत्र, काभ्रेमा गोकुल बास्कोटाले चुनाव जितेको क्षेत्र र उनको आफ्नो क्षेत्र वा झापा मात्र हाल्ने गरे । हिजो देशैभरिका जनताले एमालेलाई भोट दिएर ओली प्रधानमन्त्री बने, तर उनले भने जनतामाथि नै भेदभाव गरेर यही २ देखि ३ क्षेत्रमा मात्र सबै बजेट पोखे ।

त्यसकारण अब जनताले एमालेलाई भोट दिनुहुँदैन । अब पनि जनताले एमालेलाई भोट दिएर ओलीलाई प्रधानमन्त्री बनाएमा उनले आफ्ना नजिकका कर्मचारीलाई मन्त्री र सांसद बनाउने छन् । ओली देश र जनताको नेता नभई सिमित गुट, समुह र व्यक्तिका मात्रै नेता हुन् । एमाले जनताको पार्टी नभइ ओलीको निजी कम्पनी हो । जनताले फेरि पनि एमालेलाई भोट दिएर पहिलो पार्टी बनाउँदा महेश बस्नेत र गोकुल बास्कोटालाई मात्रै फाइदा हुने काम गर्नु हो । एमालेकै कार्यकर्तालाई पनि ओली प्रधानमन्त्री बनेमा केही फाइदा छैन ।

आगामी चुनावमा देशैभरिका जनताले एमालेलाई पर्छाने छन् । ओली प्रधानमन्त्री रहँदा उनले सरकार समाल्न नसकेर दुई पटक सांसद विघटन गरे । प्रधानमन्त्री हुँदा बिरामी भएको बहानामा मन्त्रीपरिषदको बैठक सिंहदरबारमा नराखी बालुवाटार राख्ने । पार्टीको अध्यक्ष भएर पनि पार्टीको बैठक पार्टी कार्यालयमा नराखी बालुवाटारमै राखे भने प्रधानमन्त्री हुँदा जनता र राष्ट्रको हितमा काम गर्ने समयमा कहिले अस्पताल भर्ना हुने त कहिले उपचार गर्न विदेश नै जाने । ओली प्रधानमन्त्री रहँदा उनले जनता र राष्ट्रको हितमा एउटा पनि राम्रो काम गरेनन् र २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेको निर्णय पनि उल्टाए ।

देउवाले मेरुदण्ड भाँचिएका, क्यान्सर भएका, मानसिकरुपमा अस्वस्थ रहेका जस्ता बिरामीलाई महिनाको ५ हजार भत्ता दिने भनेका थिए । अहिले जेष्ठ नागरिकलाई ७० वर्षमा दिइने भत्ता ६८ वर्षमै दिइने भनेर निर्णय गरेका थिए । यस निर्णयले गर्दा धेरै जनताहरु खुशी पनि भएका थिए । तर काँग्रेस वा देउवा अगाडि बढ्छ भनेर र आगामी चुनावमा जनताले काँग्रेसलाई भोट दिन्छ भनेर ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री हुने बित्तिकै देउवाले गरेको निर्णय सबै खारेज गरिदिए । विभिन्न रोगका बिरामी नागरिकले न खान नै पाए न उपचार नै पाए ।

राज्यबाट जनताले पाउनुपर्ने सेवासुविधा पाउँदा पाउँदै पनि रोकिदिने ओलीलाई अब पनि जनताले भोट दिनुहुन्छ र । अब १८ वर्षदेखि ६८ वर्ष सम्मका मानिसहरुले एमालेलाई भोट दिनुहुँदैन । २०७४ सालको चुनावमा जेष्ठ नागरिकलाई ५ हजार भत्ता पुर्याउने भनेर एमालेले भोट लियो, तर सत्तामा पुगेपछि त्यो पनि गरेन । बुढाबुढी, बिरामी र असहाय मानिसहरुको मनसँग खेलबाड गर्ने एमालेलाई अब कसैले भोट दिँदैनन् । एमालेका अध्यक्ष ओली अहिले भन्छन्, जेष्ठ नागरिकलाई भत्ता हामीले दिएका हौं । तर जनताले तिरेको करबाट दिएको कि ओलीको निजी सम्पत्ति बेचेर दिएको भनेर जनता ओलीलाई सोध्छन् ।

जनताले तिरेको करबाट जेष्ठ नागरिकले कर पाएका हुन् ओलीको त निजी सम्पत्ति बेचेर उनीहरुलाई भत्ता दिएको होइन नि ? ओलीले आफ्नो उपचार गर्ने नाममा जनताले तिरेको करोडौं कर खर्च गरेका छन् । र अहिले पनि जनतासँग भोट लिन उनी आफ्नो उपचारका लागि पैसा नै नभएको भन्दै नाटक गर्छन् । नाटक र नौंटकीमा त ओलीलाई कसैले सक्दैन । अहिले पनि ओलीको नाममा देश वा विदेशको बैंकमा २२ अर्ब रकम रहेका समाचार आइरहेका छन् । ओली अहिले नै मैलै मेरो सबै सम्पत्ति राष्ट्रिकरण गरिसकेको छु, म र मेरो श्रीमति मरेपछि ती सबै सम्पत्ति सरकारको नाममा हुनेछ भनेर भन्छन् । तर झापा, भक्तपुरको बालकोट वा तेह्रथुमको भनेर अहिलेसम्म कसैलाई थाहा छैन । ओलीको सम्पत्ति कति छ भनेर न कुनैले बोल्न नै सक्छ न कुनै सञ्चारकर्मीले कलम चलाउन सक्छन् ।

अब जनताले ओलीको उखान टुक्का बुझिसकेका छन् । रेल, पानी जहाज र चुलोमा ग्याँसको पाइपका कुरा पनि जनताले सुनिसकेका छन् । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनले ७० वर्ष कटेका बुढाबुढीलाई सय रुपैँया भत्ता दिएका थिए । साथै उनले प्रधानमन्त्री हुँदा आफ्नो गाउँ आफैं बनाऔँ भनेका थिए र उनको काम र उनलाई अहिले पनि जनताले सम्मान गर्छन् । तर उनको नाम बेचेर सत्तामा पुग्ने दलालहरुलाई जनताले घृणा गर्छन् । के यो भत्ता दिने नियम ओलीले ल्याएका हुन् र ? ओलीले अहिलेसम्म के चाँहि नयाँ नियम ल्याएर जनतालाई सेवा सुविधा दिए ? ओलीको जहिले पनि एउटै सोचाइ रह्यो । उनी जहिले पनि आफूलाई पार्टी र सरकार सबैमा महान् र राम्रो ठान्थे । अब ओलीलाई जनताले किन भोट दिने ? २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान बन्यो, भारतले नेपालमा नाकाबन्दी गरेको थियो ।

भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालमा पेट्रोल, डिजेल, ग्याँस वा विभिन्न खाद्य बस्तुहरुको हाहाकार भएको थियो र जनताहरु समस्यामा परेका थिए । त्यसबेला ओलीेले भारतले नेपालमा लगाएको नाकाबन्दीको विरोध गरेका थिए र नेपाली जनताले पनि अब देश परिवर्तन हुन्छ भनेर ओली भोट दिएका थिए । तर २०७४ सालमा ओली प्रधानमन्त्री बनेपछि उनले जनताको लागि एउटा सिन्को पनि भाँचेनन् । ओलीले यस्तो गर्दा पनि के अब जनताले एमालेलाई भोट दिन्छ त ? आगामी चुनावमा ओली, गोकल बास्कोटा र महेश बस्नेतले हार्ने निश्चित छ । मसिंर ४ पछि अब ओली, बस्नेत र बास्कोटाको बिजोग हुनेछ । यिनीहरुसँग लाज नभएकाले प्रत्यक्षरुपमा चुनाव हारे पनि मनोनित भएर सांसद बन्नेछन् । जनतालाई ओलीको भाषण गुण्डाले बोलेको जस्तो लाग्छ । ओलीलाई पनि थाहा भइसकेको छ, अब जनताले हामीलाई भोट दिँदैनन् र अब चुनावपछि हाम्रो नेतृत्वमा सरकार बन्दैन । तर उनी बाहिरी कार्यक्रममा हाम्रो नै पार्टी जित्छ भन्दै हिँडिरहेका छन् ।

रुषा थापा भक्तपुर

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १६:५०