सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वीका मेयरले भने, ‘अवैध संरचना हटाउन डोजर चलाउँछु’

बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङको सदरमुकाम चैनपुरमा निर्माण गरिएका अवैध संरचनाहरुलाई डोजर प्रयोग गरेर हटाउने बताएका छन् । मंगलबार प्रगतिशिल युवा समाज बझाङले आयोजना गरेको १२औं साधारण सभा तथा वार्षिक समिक्षा कार्यक्रममा सहभागीहरुको जवाफ दिँदै मेयर बजालले उक्त कुरा बताएका हुन् ।

मेयर बजालले भने, ‘बाटो मिचेर कसैले घर बनाएका छन् । चैनपुर व्यवस्थापनका लागि एउटा मास्टर प्लान बनाउँदैछौं । त्यो प्लान अबको तीन महिनामा बनाइ सक्नेछौं । नक्सा अनुसारको बाटो कसैले मिच्या छ भने २ इन्च पनि छोडिँदैन । त्यसका लागि म काठमाडौंका मेयर बालेनजस्तै डोजर हान्न तयार छु । साथीहरुले त्यसमा सहयोग गर्नुहोला ।’

धेरै स्थानीयहरुले नक्सा पासविनै सदरमुकाम चैनपुरमा घर बनाएकाले सूचना दिएर त्यस्ता संरचनाहरुलाई नगरपालिकाको भत्काउने अभियान रहेको उनको भनाई छ । केही इन्जिनियरसँग पनि आफूले छलफल गरेको र अझैं पनि यहाँका स्थानीयसँग छलफल गरेर सुन्दर स्मार्ट सिटी बनाउने योजनामा नगरपालिका रहेको मेयर बजालले दाबी गरेका छन् ।

मेयर बजालले आफू नगरपालिकाभित्रका समस्यासँग पहिल्यैदेखि परिचित भएकाले समस्या समाधानतर्फ चिन्तित रहेको बताए । उनले सुरुवातको एक महिनाभित्रै सिसिटिभी क्यामेरा जडान गर्ने र चैनपुरमा जथाभावी फोहोर फाल्नेमाथि निगरानी गर्दै कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गरिने पनि बताए ।

‘नगरपालिकाका हरेक समस्याले आफूलाई राती निदाउँदा पनि चिन्ता थप्ने गरेको तर कतिसम्म गर्न सकिन्छ आगामी दिनले बताउँला,’ मेयर बजालले सहभागीहरुसँग भने । जयपृथ्वी नगरपालिकाबासी बढी परिणाम खोजिरहेकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १५:१८