रोमानिया जाने योजना बनाएर राहदानी बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालय आएका शङ्खरापुर नगरपालिकाका प्रदीप शिवभक्तिलाई १० महिनाअघि राष्ट्रिय परिचयपत्र बनाउँदाको दुस्ख सम्झन मन छैन । त्यो बेला राष्ट्रिय परिचयपत्र बनाउन यही कार्यालयमा उनी वाक्कदिक्क भएका थिए ।
‘त्यो बेलाको भिड दुस्ख सम्झन चाहन्न,’ उनले फोटो खिच्ने ठाउँ औँल्याउँदै भने, ‘ऊ त्यहाँ हेर्नुस् अहिले त भिडै छैन ।’ केहीबेर गफिएपछि त्यो बेला (परिचयपत्र बनाउँदा) को हप्ता दिनको कष्ट उनले खोल्न थाले । शिवभक्तिले पहिलो दिन राष्ट्रिय परिचयपत्रका लागि फाराम भरे । त्यो बेला टोकन प्रणाली चल्थ्यो ।
‘फाराम भरेपछि टोकन लिन कहाँ सिजिलो थियो र ? राती १२ बजेतिरै लाइनमा बस्नु पथ्र्यो, नत्र पालो पाउनै मुस्किल थियो, त्यस दिन राती २ बजे आउँदा काठमाडौँ प्रशासन कार्यालय अगाडिको सडकमा टन्न लाइन, थेगिनसक्नु भिड थियो, सबैभन्दा अन्तिममा लाइन समाए,’ उनले भने । उनले कुर्दाकुर्दा दोस्रो दिन बिहान बल्ल टोकन भेट्टाए ।
टोकन नलगी प्रशासन कार्यालय जानुको अर्थ थिएन । उनी तेस्रो दिन बिहान टोकन बोकेर बल्ल कार्यालय छिरे । भित्र पनि थेगिनसक्नु सेवाग्राही थिए । ठेलम्ठेल भीडका बीचमा उनी पनि पसे । फेरि मानिसको तानातान, मारामार, झगडा मिलाउन प्रहरीलाई हम्मेहम्मे पथ्र्यो । उनी त्यो भीडमै हराए र त्यसदिन रित्तो हात घर फर्किए । चौथो दिन पनि गेट बाहिर बाक्लै भीड थियो ।
गेट खोल्ने बित्तिकै तछाडमछाड गरेर मानिस भित्र पसे । त्यसबेला कतिका लगाएका सामान हराउँथे, कति थिचिन्थे, कति कुटिन्थे, पत्तो हुदैन्थ्यो । निरीह बनेर फर्कनुपर्ने बाध्यता थियो । ‘त्यस दिन ठेलम्ठेल भीडमै झगडा पनि भयो । जति प्रयास गर्दा पनि पालै पाइएन । फेरि अर्को दिन (पाचौँ दिन) टोकन बोकेर आउँदा बल्ल फोटो खिच्न पाएँ ।’
परिचयपत्र कहिले आउने हो थाहा छैन, तर एउटा स्लिप दिँदो रहेछ । त्यो पाउँदा ठूलै जित हासिल भएको महसुस भयो शिवभक्तिलाई । त्यस कागजमा राष्ट्रिय परिचयपत्रको नम्बर हुन्छ । रोमानियाको भिसा लागेपछि त्यही कागज बोकेर उनी राहदानीका लागि आउँदा उनले यी कुरा खोले ।
उक्त टोकन प्रणालीमा दलाल सक्रिय भएपछि त्यो प्रणाली असफल हुन पुग्यो । यसअघिका काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल टोकन प्रणालीमा अन्य व्यक्तिले लिएर ‘ब्ल्याक’मा बेच्न थालेकाले त्यो प्रणाली हटाएको बताउँछन् । त्यसपछि म्याद तोक्ने प्रणालीको विकास भयो । पछि केही होलो त भयो तर भिड भने घटेन ।
भिड रोक्न विभिन्न उपाय अवलम्बन गरियो । त्यसले भीड केही कम गरेको सुनाउँछन् प्रशासनका अधिकारी । काठमाडौँको जडिबुटीकी सविना कार्कीले गएको असारमा फाराम भर्दा दुई महिनाको म्याद पाए । अरुले पाँच–सात महिनामा पालो नपाइरहेका बेला दुई महिनाको पालो आउने मिति देख्दा औधी खुसी लागेको उनले सुनाए ।
‘खै मेरो पालामा फाराम भर्ने नै कम भएर पो हो की दुई महिनामा पालो आयो, अहिले सामान्य त्रुटी देखिएकाले सच्याउन आएकी हुँ,’ उनले अनुभव सुनाए । अघिल्लो हप्ता उनले सच्याउन फाराम भर्दा पुसमा पालो देखाइएको थियो । पुरानो सच्याउन आएको भनेपछि त्यही दिन नै काम सकेर उनी फर्किए ।
अहिले अनलाइन फाराम भर्दा पुस, माघको मिति दिने गरिएको छ । स्वचालित रुपमा अनलाइन फाराममा त्यो देखाउँछ । आवश्यक छ भनेर अनुरोध गरेर आउने सेवाग्राहीलाई रित्तो हात पठाउने गरिएको भने छैन । आवश्यकता पर्नेको हकमा सहजिकरण गर्ने गरिएको गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराई बताउँछन् ।
उनका अनुसार साउन मसान्तसम्ममा मुलुकभर ८६ लाख जनाले परिचयपत्र बनाइसकेका छन् । हरेक महिना झण्डै पाँच लाख जनाले परिचयपत्र बनाउने गरेकाले त्यही हाराहारीमा यो महिनामा बनेको उनको अनुमान छ । सबै तथ्याङ्क आउन भने बाँकी रहेको भट्टराईले बताए । अहिले ७७ वटै जिल्ला प्रशासनमा अनलाइनमार्फत काम हुन्छ ।
यसका साथै ४२ वटा इलाका प्रशासन कार्यालयबाट पनि परिचयपत्र बन्छ । धनुषा र सिराहाका पालिकामा पनि परिचयपत्र बनाउने काम सुरु भएको छ । नारायणहिटीका साथै काठमाडौँ र ललितपुरमा विभिन्न प्रदेश तोकेर उपत्यकामा हुने सेवाग्राहीका लागि सहजिकरण गरिएको छ । काठमाडौँ महानगरपालिकाका वडा तथा राष्ट्रिय सभागृहबाट समेत दिन थालिएको छ ।
रासस । काठमाडौं ।