सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय आविष्कार केन्द्रलाई १ कराेड रुपैयाँकाे पुरस्कार

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।

मङ्गलवार गैरआवासीय नेपाली सङ्घ र बीबी फाउन्डेशनको संयुक्त पहलमा काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले एउटा मात्रै आविष्कार केन्द्र नभइ धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताउनुभयो । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उहाँको भनाइ थियो ।

देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुनपर्ने पुनले बताउनुभयो । उहाँले आविष्कार केन्द्रहरूलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नति कहिल्यै नहुने दाबी गर्नुभयो । अध्यक्ष पुनले हाई–वे, विमानस्थल र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताउनुभयो । उहाँले दक्षिण एसियामा विकासको ठूलो नारा दिए पनि नेपाल सबैभन्दा गरिब देशमा स्थापित रहेको दाबी गर्नुभयो । उहाँले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताउनुभयो ।

बीबी फाउन्डेसनका अध्यक्ष एवम् गैरआवसीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा भवन कीर्ति पुरस्कारको घोषणा गर्नुभएको हो । याे पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १९:०१