सूचनाको शक्ति - The Power Of Information

        

आर्मेनिया–अजरबैजान युद्धमा मारिए ४९ आर्मेनियाली सैनिक

आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन् । दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ ।

आर्मेनियाका प्रधानमन्त्रीले अजरबैजानमा भएको आक्रमणमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन् । यसैबीच रातभरको गोलाबारीपछि आर्मेनिया र रूस दुवै अब सीमामा स्थिति स्थिर गर्न सहमत भएका छन् ।

आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानले मङ्गलबार आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसँग वार्ता गरेको बताएका छन् । दुवै नेताले स्थितिलाई स्थिर बनाउन आवश्यक कदम चाल्न सहमति जनाएका छन् ।

आर्मेनियाले घातक टर्कीका ड्रोनयुक्त अजरबैजानी सेनाले आफ्नो क्षेत्रमा प्रवेश गर्न खोजेको आरोप लगाएको छ । यसअघि अजरबैजान र आर्मेनियाबीच रातभर गोली हानाहान भएको थियो । यस हमलामा धेरै अजरबैजानी सैनिक मारिएको बताइएको छ ।

यसअघि सन् २०२० मा अजरबैजान र आर्मेनियाबीच नागर्नो–काराबाख क्षेत्रलाई लिएर केही दिन युद्ध भएको थियो । दुवै पक्षले एकअर्कालाई आक्रमणका लागि उकासेको आरोप लगाएका छन् ।

आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानले आर्मेनियाली सेनाका केन्द्रमा राति ठूलो गोलीबारी गरेको जनाएको छ । टर्कीले दिएका ड्रोनले अजरबैजानले आक्रमणमा आफ्नो ड्रोन प्रयोग गरिरहेको आर्मेनियाले बताएको छ ।

यसअघि सन् २०२० को युद्धमा आर्मेनियाको पराजय हुनुमा यिनै टर्कीका ड्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो । अजरबैजानी आक्रमणको आफ्ना सैनिकले उचित जवाफ दिएको आर्मेनियाले बताएको छ ।

अर्कोतर्फ अजरबैजानको रक्षा मन्त्रालयले आर्मेनियाले आफ्नो क्षेत्रमा विध्वंसात्मक आक्रमण गरिरहेको आरोप लगाएको छ । उसले अजरबैजानका धेरै ठाउँमा गोलाबारी भएको दाबी गरेको छ ।

अजरबैजानले आफ्ना धेरै सैनिक हताहत भएको बताएको छ तर अहिलेसम्म संख्या तोकेको छैन । अजरबैजानी सञ्चारमाध्यमले यसअघि सोमबार दुवै देशले तनावपूर्ण स्थिति रोक्ने सहमति गरेको बताएका थिए ।

तर केही समयपछि नै आक्रमण शुरु भएको थियो । यी दुई देशबीचको युद्धमा रूसको कदम के हुनेछ भन्नेमा सबैको चासो छ । रूस आर्मेनियाको नजिकको मित्र हो । यसैबीच अमेरिकाले यो आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

अमेरिकाले यो विवाद सैन्य समाधानबाट नहुने बताएको छ । यसैबीच अजरबैजानको सहयोगी टर्कीले आर्मेनियालाई भड्काउपूर्ण काम रोक्न र अजरबैजानलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १८:०१