सूचनाको शक्ति - The Power Of Information

        

७५ जिल्लामा फैलियो डेंगु, नौ हजार ८३५ जनामा पुष्टि

पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लाबाट नौ हजार ८३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा सात हजार ४४० जनामा भएको छ । यस्तै, लुम्बिनीमा एक हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेस प्रदेशमा १८० र कर्णाली प्रदेशमा ६६ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर तीन हजार ६२२, काठमाडौं, दुई हजार ४१४, मकवानपुरमा ६६३, रुपन्देहीमा ५७०, दाङमा ३५८, भक्तपुरमा १७६, धादिङमा १३७, तेह्रथुममा ११० काभ्रेमा १०५ र चितवनमा ९० गरी १० जिल्लामा आठ हजार २४५ जनामा डेंगु पुष्टि भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।

हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरू ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १६:३७