सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रचण्डले चुर्लुम्मै डुबाइदिएपछि फेरि नमज्जाले फसे बामदेव !

एकपटक भए पनि प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो झुण्डाउने सपना बोेकेका बामदेव गौतमको प्रधानमन्त्री बन्न सपना लगभग सकिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आँखा चिम्लेर विश्वास गर्दा नेकपा एकता अभियान पार्टीका अध्यक्ष बामदेव गौतम नमज्जाले फसेको खबर छ । प्रचण्डबाट वामदेवले गम्भीर धोका पाएका हुन् ।

वामदेवले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिँया हथौडा लिएर चुनावी प्रतिष्पर्धा गर्नेगरी गरेको तयारी अन्ततः क्यान्सिल गर्नुपरेको छ । वामदेव पेन्डुलम बनेको आरोप बेलाबखत लाग्ने गरेको छ ।

यसैबीच, बामदेवलाई फेरि एकपटक पेन्डुलम बनाइएको छ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बावुराम भट्टराई र बामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह दिने निर्णय गरेको थियो ।

तर अन्तिममा निर्वाचन आयोगमा पुगेर संयुक्त निवेदन दिने बेलामा माओवादी अध्यक्ष प्रचण्डले बामदेवलाई जिल्ल पारेर बावुरामलाई मात्रै हसिया हथौडा चिन्ह दिनेगरि निवेदन दिएको खुलासा भएको छ ।

निर्वाचन आयोगको नियम अनुसार नै फरक फरक पार्टीले पनि एउटै चुनाव चिन्हबाट प्रतिष्पर्धा गर्न सक्ने तर दुवै पार्टीका अध्यक्षहरुले संयुक्त निवेदन दिनुपर्नेमा प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बावुराम भट्टराईसँग मात्रै निर्वाचन आयोगमा गएर निवेदन दिए पछि बामदेव गौतम जिल्लिएका छन् ।

एउटै चिन्हबाट चुनाव लड्ने पार्टीहरुले दरखास्त दिने अन्तिम दिन बिहान माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले बावुराम र बामदेवलाई हसिया हथौडा चिन्ह दिने निर्णय गरेको थियो । तर प्रचण्ड र बावुराम मात्रै निर्वाचन आयोगमा पुगेर निवेदन दिएको खुलासा भएको छ ।

बामदेव गौतमले निर्वाचन आयोग पुगेर कुर्दाकुर्दै पनि प्रचण्डले फोन नै नउठाएको खुलेको छ । बामदेव नेतृत्वको नेकपा एकता अभियान पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले यस बारेमा खुलासा गरेका हुन् । उनले अब बामदेव गौतमले हसिँया हथौडा चिन्ह लिएर चुनाव लड्ने सम्भावना पूर्णरुपमा समाप्त भएको भनेका छन् ।

निर्वाचन आयोगमा दुई पार्टीले संयुक्त निवेदन दिने मिति सकिएको र अब हसिँया हथौडा चुनाव चिन्ह लिएर लड्दा माओवादी भएर मात्रै लड्न सकिने भन्दै आफुहरुका लागि माओवादी भएर हसिँया हथौडा चिन्ह लिन स्वीकार्य नभएको पाण्डेले भनेका छन् ।

प्रचार विभाग प्रमुख पाण्डेका अनुसार विहान माओवादी केन्द्रले गरेको निर्णय अनुसार बामदेव दिउँसो निर्वाचन आयोगमा पुगेका थिए, तर त्यसदिन प्रचण्डले फोन नउठाइ सम्पर्कबिहिन भएका थिए । पाण्डेले अब आफ्नो पार्टी निर्वाचनमै सहभागी नहुने समेत बताएका छन् ।

हाल राष्ट्रियसभाका सदस्य रहेका गौतमले गठबन्धनको तर्फबाट प्युठानमा उमेदवार बन्न पाउनुपर्ने दाबी गरिरहेका थिए, तर अब निर्वाचन नै नलड्ने पाण्डेले बताए । प्रचण्डबाट ठुलो धोका खाएको विषयमा पाण्डेले यसलाई धोकाकै रुपमा त नबुझेको तर घटनाक्रम यस्तो भएको बताएका छन् ।

एकपटक भए पनि प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो झुण्डाउने सपना बोेकेका बामदेव गौतमको प्रधानमन्त्री बन्न सपना लगभग सकिएको छ । प्रधानमन्त्री बन्नका लागी प्रतिनिधिसभाको सदस्य हुनै पर्ने संवैधानिक बाध्यात्मक व्यवस्था रहेको छ ।

गौतम प्रतिनिधिसभाको निर्वाचनमै सहभागी नहुने भएका छन् । प्रचण्डले धोका दिएसँगै बामदेवको प्रधानमन्त्री बन्ने सम्भावना र सपना चकनाचुर भएको छ । अहिले प्रतिनिधिसभाको उम्मेदवार नै नहुने भएपछि पाँच बर्षपछि उमेर लगायत पनि धेरै कारणले त्यो सम्भावना रहँदैन ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १४:३३