सूचनाको शक्ति - The Power Of Information

        

हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेंगु

देशभर डेंगु संक्रमित हुनेको संख्या नौ हजार आठ सय ३५ पुगेको छ ।

डेंगुबाट काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित छ । डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या काठमाडौं र ललितपुरमा छ । ललितपुरमा तीन हजार ६ सय २२ र काठमाडौंमा दुई हजार चार सय १४ जनामा डेंगु संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको छ । उपत्यकामा संक्रमण तीव्र छ ।

महाशाखाका कीटजन्य रोग प्रमुख गोकर्ण घिमिरेका अनुसार संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै सात हजार चार सय ४० जना छन् ।

लुम्बिनीमा प्रदेशमा एक हजार तीन सय ५६, सुदूरपश्चिममा दुई सय ७१, प्रदेश १ मा तीन सय २० जनालाई डेंगु संक्रमण भएको छ ।

गण्डकीमा दुई सय दुई, मधेस प्रदेशमा एक सय ८० र कर्णाली प्रदेशमा करिब ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म सातजनाको मृत्यु 
डेंगु संक्रमण भयावह बनेपछि यसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो १५ दिनयता सातजनाले डेंगु संक्रमणबाट ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमध्ये मेडिसिटी अस्पतालमा उपचाररत ३८ वर्षीय पुरुष, निसर्ग अस्पतालमा ३५ वर्षीया महिला, कान्ति बाल अस्पतालमा उपचाररत तीन वर्षीया बालिका छन् ।

भेरी अस्पतालमा १२ वर्षीया बालिकाले डेंगु संक्रमणबाट ज्यान गुमाएकी छिन् । ग्रान्डी र सुमेरु अस्पतालमा उपचाररत एक–एकजना र चितवन मेडिकल कलेजमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये दुईजना डेंगु र कोभिड– १९ दुवैको संक्रमणका बिरामी रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार ०८:२८