सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक व्यवस्थापनमा सकस

नेपालगन्जका पाँच स्थानमा ‘ट्राफिक लाइट’

नेपालगन्जका विभिन्न चोकमा हातकै इसाराले भए पनि ट्राफिक ब्यवस्थापनमा ट्राफिक प्रहरी लागिपरेको छ ।

नेपालगन्जमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गएको छ । ट्राफिक प्रहरीसँग पर्याप्त जनशक्ति नहुँदा यहाँको ट्राफिक व्यवस्थापनमा सधैंजसो समस्या आइरहन्छ । सीमित स्रोत साधनका कारण ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ ।

सवारी नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएको छ । ट्राफिक नियम अटेर गर्नेहरु उस्तै छन् । नेपालगन्जका विभिन्न चोकमा हातकै इसाराले भए पनि ट्राफिक ब्यवस्थापन गर्न ट्राफिक प्रहरी लागिपरेको छ । यद्यपी भनेजस्तो व्यवस्थापन भने हुन सकेको छैन ।

ट्राफिक प्रहरीको यो बाध्यता केही समयपछि अलिकति भए पनि सहज हुनेछ । नेपालगन्जका विभिन्न चोकमा ट्राफिक लाइट जडानका लागि टेण्डर आह्वान भएसँगै केही हदसम्म यहाँको ट्राफिक व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।

सहरीकरणसँगै सवारी साधन अत्यधिक बढ्दै जाँदा नेपालगन्जका प्रमुख चोकमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकाले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाइट जडान गरिने भएको छ ।

जाम धेरै हुँदा अतिव्यस्त हुने नेपालगन्जका पाँच चोकका लागि पाँच वटा ट्राफिक सिग्नल लाइट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेन्डर समेत आह्वान गरि सकिएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

कार्यालयका प्रमुख निरज शाक्यका अनुसार नेपालगन्जको अति व्यस्त मानिने गणेशमान चोक, बीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा (एयर पोर्ट) चोक गरी पाँच ठाउँमा ट्राफिक सिग्नल लाइट जडान गर्न टेन्डर आह्वान गरि सकिएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार रु.एक करोड ७० लाख ७८ हजार ९०२ को टेन्डर आह्वान गरिएको छ । ट्राफिक सिग्नल लाइट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहज हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले सुर्खेत रोडको हाइवेमा पर्ने पाँच वटा मुख्य चोकमा अत्यधिक ट्राफिकका कारण निकै समस्या हुँदै आएकाले अब सहज हुने रसडक दुर्घटनामा समेत कमी आउने बताए ।

उनका अनुसार खुला सडकसँगै सवारी साधनको चाप बढेको छ । ‘अब चोक–चोकमा खटाइने केही ट्राफिक प्रहरीले मात्र सवारी व्यवस्थापन गर्न असम्भव छ,’ उनले भने, ‘ट्राफिक लाइट जडानले ट्राफिक व्यवस्थापनमा धेरै सघाउनेछ ।’

प्रहरी निरीक्षक शाहले नगरका अन्य स्थानमा पनि ट्राफिक लाइट राख्नुपर्ने आवश्यकता रहेको बताए । उनले ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त भएपछि ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

जमुनाहादेखि कोहलपुरसम्मको रत्न राजमार्गमा लामो समयदेखि आकाशे पुल निर्माण र ट्राफिक सिग्नल लाइट जडान गर्नुपर्ने माग स्थानीयद्वारा गरिँदै आएको थियो । बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएको छोटो समयमै स्थानीय जनताका यी दुवै माग पूरा भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार ०८:०७