२०७९ वैशाखको निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएसँगै सबैतिर उत्साहजनक लहर छाएको छ । यीमध्ये सीमित जनप्रतिनिधि दोहोरिएका छन् भने धेरै नयाँ अनुहार छन् ।
अघिल्लो कार्यकालको तुलनामा उनीहरूको काम गराइ उत्साहजनक र परिपक्व देखिएको छ । जनप्रतिधिहरुले योजना छनौटदेखि काम गर्ने तरिकामा सुधार ल्याएका छन् । यसपालिको स्थानीय निर्वाचनपछि अघिल्लो कार्यकालका दुईथरी विकृति दोहोरिएनन् ।
पहिलो, सम्भव नै नहुने र कार्यान्वयन गर्नै हम्मे पर्ने योजनाहरू घोषणा नै भएनन् । दोस्रो, आफ्नो सुविधा कटौतीको घोषणा गर्ने र तलब नलिने, गाडी नचढ्ने जस्ता आदर्शवादी तर अव्यवहारिक घोषणा गर्ने कार्य अघिल्लो कार्यकालको तुलनामा कमी आयो ।
जनप्रतिनिधि र उनीहरूको स्वभाव अनुसार, स्थानीय तहका कामकारबाही अघि बढेका छन् । दोस्रो कार्यकालको सुरुवातलदेखि नै स्थानीय तहले गाउँस्तरकै भए पनि योजनाबद्ध विकासको काम गर्नुपर्छ भन्ने सन्देश दिन थालेका छन् ।
स्थानीय तहहरुले अनावश्यक सेवासुविधा कटौति गर्दै समग्र विकासका लागि जनपक्षीय कदम उठाएका छन् । यसले राज्यकोष खर्चेर महंगो सवारी साधन र सुविधाभोग गर्न खोज्ने अरू जनप्रतिनिधिलाई उनको कामले अप्ठेरो भने पारिदिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकाल सुरु गरेको १०० दिन बितिसकेको छ । यस अवधिमा केही स्थानीय तहले राम्रो र प्रभाव पर्ने काम गर्दै आएका छन् । जसमा बाँकेको कोहलपुर नगरपालिकाका कामकारबाही हेर्दा केही आशाजनक काम देख्न सकिन्छ ।
विद्यालयमा अनुगमन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य ।
बाँकेको कोहलपुर नगरपालिकाले कार्यपालिकाका निर्णयहरू प्रमाणीकरण गरेर २४ घण्टाभित्र सार्वजनिक गर्न थालेको छ । नगरपालिकाले पछिल्लो तीन महिनामा दुई पटक सार्वजनिक सुनुवाइ सम्पन्न गरिसकेको छ ।
नगरपालिकाले आर्थिक मितव्ययिता एवं पारदर्शिताको लागि कोटेशनबाट हुने खरिदलाई निरुत्साहित गरेको छ । हतारमा खरिदका काम गर्नैपर्ने भए कम्तीमा एकसाताको सूचनाबाट प्रतिस्पर्धा हुनुपर्ने व्यवस्था गरिएको मेयर पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
कोहलपुर नगरपालिकाले खुला सरकारको अवधारणा कार्यान्वयन र प्रशासनिक सुधारमा ज्यादा जोड दिएको देखिन्छ । साथै नगरपालिकाले आर्थिक दायित्व बढ्ने र प्रतिफल नहुने गतिविधि बन्द गर्ने निर्णय पनि गरेको छ ।
नगरपालिकाका सबै निर्णय, क्रियाकलाप र दस्तावेज एक महिनाभित्र वेबसाइटमा प्रकाशित हुने व्यवस्था मिलाउँदै ज्यालादारीका कर्मचारी बढी हुँदा आर्थिक भार बढेको उनीहरूको कार्यकाल नथप्ने निर्णय गरेको छ । इन्धनको कुपन प्रणाली बन्द गरेको छ ।
नगरपालिकाले क्षमता सुधारका लागि भन्दै प्रहरी तालिम केन्द्रबाट नै नगर प्रहरीलाई तालिमको व्यवस्था मिलाएको छ । अनि नगरपालिकाको संगठन र प्रशासनिक सुधारका लागि पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा कार्यदल नै गठन गरेको छ ।
नगर प्रमुख आचार्यले भन्छन्, ‘कोहलपुर नगरपालिकाको यथार्थ अवस्था र हाम्रो लक्ष्यबारे छिट्टै श्वेतपत्र जारी गर्दैछौं ।’ योजना तथा कार्यक्रम आर्थिक वर्षको अन्त्यमा हुने गरेकोमा चालु आर्थिक बर्षदेखि जेठ मसान्तपछि कुनै पनि योजनाको म्याद नरहने नीति बनाइएको छ ।
कोहलपुर–नेपालगन्ज सडकमा झिलिमिली । तीन बर्षदेखि मर्मत हुन नसकेका सडक बत्ती मर्मतपछि कोहलपुरको मुख्य सडक उज्यालिएको छ ।
नगरपालिकाले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल बताउँछन् । उनका अनुसार जनप्रतिनिधि आएको १०० दिनको प्रगति प्रतिवेदन पनि सार्वजनीक भएको छ ।
१०० दिनमा नगरपालिकाले गरेको प्रगति प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्षको अन्त्यमा योजना स्वीकृत तथा कार्यक्रम सञ्चालन हुने गरेकोमा अबदेखि जेठ मसान्तपछि कुनै पनि योजनाको म्याद थप नगर्ने नीति तय गरिएको छ ।’
सार्वजनिक गरिएको प्रगति प्रतिवेदन अनुसार कोहलपुर नगरपालिकाले १०० दिनमा विभिनन ३२ वटा काम गरेको जनाएको छ । नगरपालिकाले दमकल व्यवस्थापन तथा आकस्मिक सेवाका लागि १०१ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।
स्थानीय भू–उपयोग परिषद गठन गर्दै नगर क्षेत्रको सम्पूर्ण जग्गा कृषि एवं गैरकृषि क्षेत्रमा वर्गीकरण गरेको नगरपालिकाले फोहरमैला विसर्जनका लागि ल्याण्डफिल साइटलाई कार्यान्वयनमा ल्याएको पनि जनाएको छ ।
नेपालगन्ज–कोहलपुर सडक क्षेत्रको कोहलपुर चौराहदेखि हवल्दारपुरसम्म सडकबत्ती मर्मत तथा जडान गरी सञ्चालन गरिरहेको र सो सडक क्षेत्रमा वृक्षारोपणसँगै सडक ग्रिन बेल्टमा रेलिङ्ग निर्माण सम्पन्न गरिसकेको नगरपालिकाले जनाएको छ ।
साथै नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुन नदिन स्वयंसेवक शिक्षकको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक जग्गा लिजमा दिंदा विकृति बढ्ने निष्कर्षका साथ नगरपालिकाले कुनै पनि व्यक्ति, संस्था वा निकायलाई जग्गा उपलब्ध नगराउने नीति लिएको छ ।
सत्यपाटी । बाँके ।