सूचनाको शक्ति - The Power Of Information

        

अनुदान नपाउँदा विदेशिन बाध्य

नेपाली हाते कागज उद्योगीका पीडा, ‘कमिसन नदिँदा अनुदान पाइँन’

बुद्धिमान बोहराले भने, ‘स्वदेशमा गरेर खान्छु भन्दा सरकारले नै पत्याउँदैन, विदेश नगएर सुखै छैन । अहिलेसम्मको ऋण त तिर्नैपर्यो, विदेशिने सुरमा छु ।’

सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोंच नआएको होइन । तर उनलाई विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने सोंच उनीमा हावी थियो । त्यसैले उनले विदेश जानुभन्दा स्वदेशमै केही गर्ने सोंचले उद्यम सुरु गरे ।

उनले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याए । दुई रोपनी जग्गा भाडामा लिएर रु.सात लाखमा नेपाली कागज उद्योग सञ्चालन गरेका उहाँले आठ जनालाई रोजगारीसमेत दिएका थिए । उद्योगका लागि चाहिने कच्चा पदार्थ दैलेख र कालिकोटबाट ल्याउनुपथ्र्यो ।

सुरुवाती चरणमा उद्योग राम्रै चलेको बुद्धिमान बताउँछन् । उनले भने, ‘सुरुमा रु ७–८ लाख ऋण लिएर उद्योग सुरु गरें । सुर्खेत र नेपालगन्ज नेपाली कागजको बजार राम्रो थियो । सुरुवातको चरणमा उद्योगले राम्रै आम्दानी दिइरहेको थियो ।’ उनले पहिले उद्योगबाट मासिक रु. ६० हजारदेखि डेढ लाखसम्म नाफा दिइरहेको बताए ।

स्थापनासँगै ८ जनालाई रोजगारी दिएको उद्योगले महिनामै रु.२ देखि ३ लाखसम्म कारोबार गर्दै आएको पनि बुद्धिमानले बताए । लोक्ता हाते कागजको कच्चा पदार्थ हो । लोक्तालाई पकाएर कागज उत्पादन गर्ने गरिन्छ । लेकाली जंगलमा पाइने बरुवा नामक बिरुवाको बोक्रालाई लोक्ता भनिन्छ । यसैबाट नेपाली कागज तयार हुन्छ ।

पछिल्लो समय सामुदायिक उपभोक्ता समितिले सामुदायिक बन क्षेत्रमा लोक्ता संकलनमा रोक लगाइदिए । यसले कच्चा पदार्थ अभाव हुन थालेपछि कागज उत्पादनमा समस्या पर्दै जान थालेको बुद्धिमानको भनाई छ । कच्चा पदार्थ अभाव हुन थालेपछि महंगोमा किन्नुपर्ने अवस्था आएको र उद्योगको नाफा विस्तारै घट्दै जान थालेको पनि उनले बताए ।

उनले भने, ‘सुरुवातको दुई बर्षसम्म उद्योगले कच्चा पदार्थ राम्रै पाइरहेको थियो । विस्तारै बन समितिहरुले लोक्ता संकलन गर्न नदिएपछि कच्चा पदार्थ अभाव हुन थाल्यो । कच्चा पदार्थ महंगियो । कच्चा पदार्थ अभावसँगै उत्पादन पनि घट्न थाल्यो । यता कागजको मूल्य भने अहिले पनि बढेको छैन । यसले उद्योग दिनप्रतिदिन घाटातर्फ गइरहेको थियो ।’

एकातिर कच्चा पदार्थको अभाव छँदै थियो । अर्कोतिर कोरोना संक्रमणले सबैतिर अस्तव्यस्त बनाइदियो । कोरोनाकै कारण उद्योग सञ्चालनमा समस्या पर्न थालेपछि ऋणको जोहोमा चारैतिर भौतारिँदा पनि कहिँकतैबाट ऋण नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बुद्धिमानको गुनासो छ ।

‘सञ्चालनको सुरुवातमा त ठिकै थियो, कोरोनापछि उद्योग निरन्तर घाटामा जान थाल्यो,’ बुद्धिमानले भने, ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।’ उद्योगबाट राम्रै आम्दानी गर्न सकिने सम्भावना रहे पनि लगानीको अभावमा उद्योग बन्द गर्नुपरेको उनी बताउँछन् ।

उनले उत्पादित कागज बिक्री गर्न टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानी अनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चा पदार्थ नपाइनु, ढुवानीको समस्या लगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बताए । उनका अनुसार जाजरकोट, दैलेख, कालिकोट लगायतका जंगलमा पाइने लोक्ताको पनि अभाव भयो ।

उनले उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्ट बक्स, गमला लगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन गर्दै आएको बताए । ‘पहिला चार वर्षसम्म कागज उद्योगमा काम गरें, सम्भावना राम्रै देखेपछि ऋण गरेरै भए पनि उद्योग सञ्चालनमा ल्याएँ,’ सञ्चालक बोहोराले भने ।

हाल कागज बनाउनका लागि महंगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उद्योग बन्द गरेको बताउँदै उनले भने, ‘न चाहिएको बेला कच्चा पदार्थ आउँछ, न कतैबाट अनुदान पाइयो, उद्योग सञ्चालन गर्न मुस्किल परेपछि बन्द गरे ।’ स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदानसमेत टाठाबाठाले पाउने गरेको उनको गुनासो छ ।

स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उहाँको गुनासो छ । ‘पहिले सम्भावना देखेर उद्योग सुरु गरे, अहिले उद्योग संकटमा परेपछि लगानी नै डुब्यो,’ उनले भने । स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्न नसकेको उनको गुनासो छ ।

अनुदान र ऋण खोज्दा कमिसनमा मोलमोलाई

अनुदान र ऋणका लागि सम्बन्धीत निकायमा जाँदा पनि कमिसनमा मोलमोलाई हुने गरेको उहाँको तीतो अनुभव छ । कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले बुद्धिमान विदेशिने तयारीमा छन् । ‘महामारीपछि उद्योगमा संकट देखियो । अनुदान पाइने आशमा स्थानीय तहदेखि प्रदेश सरकारसम्म प्रस्ताव लगे । तर, कतै माखो मरेन,’ उनले भने ।

कोरोनाका कारण सुरुवातको बन्दाबन्दीपछि उद्योगमा रु.तीन लाखसम्म लगानी थप्नुपर्ने अवस्था आएपछि सबैतिर अनुदान र ऋणका लागि हारगुहार गरेको उनले सुनाए । ‘महिला उद्यमी कर्जाका लागि एनएमबी बैंकसँग ऋण मागे, तर बैंकले लोन दिएन । धेरै ठाउँमा प्रस्तावना (प्रपोजल) बुझाए, अहँ कतै सफल हुन सकिन,’ उनले भने ।

कोरोनाका कारण दोस्रो पटकको बन्दाबन्दीका कारण उद्योग पूर्णरुपमा बन्द गर्नुपरेको उनले बताए । ‘सुरुमा उद्योग राम्रो चलेको थियो, उद्योगकै आम्दानीले महिना–महिनामा किस्ता तिर्न र उद्योग सञ्चालनका लागि आम्दानी भएकै थियो,’ उनले भने, ‘कतैबाट ऋण तथा अनुदान नपाएपछि अहिले विदेश जाने तयारी गरेको हुँ ।’

‘देशमा कमिसनको जालो यतिसम्म फैलिएको छ कि त्यसले सामान्य किसानदेखि ठूल्ठूला व्यापारीसम्मलाई दुःख दिएको छ । भएकाले त दिएर आफ्नो काम फत्ते गर्लान् नभएकाले कसरी पार लगाउने ?,’ उनले भने, ‘घरजग्गा धितो राखी ऋण माग्न जाँदा त कमिसन दिनुपर्छ भने बिना धितो ऋण माग्दा के अवस्था आउँला ?’

कागज उद्योग सञ्चालनका लागि विभिन्न सरकारी निकाय चहार्दा पनि उद्योगका लागि अनुदान नपाएको बुद्धिमानको अनुभव छ । ‘पाए त हन्डर, ठक्कर अनि कमिसनमा रमाइरहेको प्रशासनिक संरचना,’ उनले भने । अनुदानका लागि आफूले विभिन्न निकायहरुमा प्रयास गर्दा पनि नभएको भन्दै बुद्धिमानले आक्रोश पोखे ।

अनुदान माग्दा हाकाहाकी यति र उति प्रतिशत भन्दै कमिसन माग्ने भेटिएको उनको अनुभव छ । ‘यहाँ त अनुदान पाउन कमिसन दिनुपर्ने रहेछ, चार पटक घरेलुमा, पाँच पटक स्थानीय तहमा प्रस्तावना दिएँ,’ उनले भने, ‘सिधै कति प्रतिशत दिने हो हामीलाई भनेर माग्छन्, पैसा दिन सक्दिन भनेपछि सञ्चालनमै नभएका उद्योग अनुदानका सूचीमा परेको देखेँ ।’

‘कमिसन बुझाउँदा झोलामा उद्योग देखाउनेले अनुदान पाए, म जस्ता वास्तविक पीडितले पाउन नसक्ने रहेछन् । मैले कमिसन दिन सकिँन, अनुदानबाट बन्चित भए, रु.चार–पाँच लाख ऋण लिँदा २० प्रतिशतसम्म कमिसन माग्नेहरु पनि भेटिए,’ उनले भने, ‘कतै ऋण अनुदान नपाएर केही उपाय नलागेपछि उद्योग बन्द गरेर विदेशिन लागेको छु ।’

उनका अनुसार उत्पादनका लागि ल्याइएको कच्चा पदार्थसमेत नष्ट भयो । उत्पादन भएको कागज पनि कोरोना महामारीका कारण बजारमा गएन । ‘स्वदेशमा गरेर खान्छु भन्दा सरकारले नै पत्याउँदैन, विदेश नगएर सुखै छैन । अहिलेसम्मको ऋण त तिर्नैपर्यो, विदेशिने सुरमा छु,’ उनले भने । मलेसिया जानका लागि उनी पासपोर्ट बनाउने प्रक्रियामा छन् ।

उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उनी भावुकसमेत बने । बुद्धिमानले कागज उद्योग बन्द गरेर रोजगारी दिएका सबैलाई बिदाई समेत गरिसकेका छन् । उनले भने, ‘कोरोना महामारीपछि कामदारलाई दिने रकमसमेत अभाव भयो, उहाँहरूलाई समयमै तलब खुवाउन नसक्ने अवस्था भएपछि बिदा दिए ।’

कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उनको अनुभव छ । चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकाशिएको उनको भनाइ छ । बुद्धिमानका अनुसार एक कोरी कागजको मूल्य चार वर्षअघि र अहिले पनि दुई हजार रूपैयाँ नै छ ।

नेपाली कागज उत्पादनका लागि सरकारले दिने अनुदानसमेत वास्तविक उद्यमीले पाउन नसक्दा आफूजस्ता उद्यमीहरु विदेश पलायन हुनुपर्ने अवस्था आएको उनको गुनासो छ । साना तथा घरेलु उद्योग महासंघका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योगहरू छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १३:००