सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम सबैभन्दा धेरै कैलालीमा ५४ जना डेङ्गुका बिरामी रहेका छन् ।
उच्च पहाडी जिल्ला बाजुरामा ८, बझाङमा ८, बैतडीमा ९, अछाममा १५, डोटीमा १५, कञ्चनपुरमा ३४ र दार्चुलामा ३६ जनामा डेङ्गुका बिरामी देखापरेका छन् । ‘पहाडी क्षेत्रमा पहिले डेङ्गु, मलेरिया लगायतका लामखुट्टेले सार्ने रोग देखिएका थिएनन्,’ जोशीले भने ।
प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति जोशीका अनुसार पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलावायु परिवर्तको असरसमेत पर्यो ।
पहिला सर–सामान ल्याउनका लागि वर्षमा दुई–तीन पटक मात्रै पहाडी क्षेत्रका बासिन्दा तराई झर्ने गरेको उल्लेख गर्दै सम्पर्क व्यक्ति जोशीले उच्च पहाडी क्षेत्रमा पहिला औलो र डेङ्गु रोगको त्यति खतरा नभएको बताए ।
यातायातका साधनमा चहलपहल बढेसँगै लामखुट्टेले सार्ने रोगको जोखिमसमेत उत्तिकै बढेको उनले बताए । पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने गरेको उनको भनाइ छ ।
‘स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको छ,’ सम्पर्क व्यक्ति जोशीले भने, ‘आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ ।’
जोशीका अनुसार पहाडीसहित तराईका जिल्लामा जनचेतना फैलाउने कार्यसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ । उनका अनुसार डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ । त्यसपछि विस्तारै घट्दै जान्छ ।
दुई–तीन वर्षअघिदेखि मात्रै डेङ्गुको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । त्यसअघि डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा निकै कम थियो । डेङ्गु ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन ।
अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ । एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेङ्गु सार्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेका गमला, फूलदानी, कुलर, टायर लगायतको सफा पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने कार्य गर्नु पर्दछ ।
गमलाको प्लेट, फूलदानी, कुलर, टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउनुपर्छ ।
रासस । कञ्चनपुर ।