सूचनाको शक्ति - The Power Of Information

        

चितुवा र मान्छेबीच भिडन्त, चितुवा मारियो, मान्छे सकुशल

गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मारेका हुन् ।

जिल्लाको रेसुंगा नगरपालिका ६ निनीचौरका ३० बर्षीय यमबहादुर कुँवर आइतबार बिहान कुखुराको फर्ममा जाँदा एक्कासी चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट लडाइँ भएको भाइ लेखराज कुँवरले जानकारी दिए ।

आइतबार बिहान कुखुराको फर्ममा पुग्दा चितुवाले आक्रमण गरेपछि कुँवरले घरेलु हतियार प्रहार गरेपछि चितुवा घाइते भएको थियो । घाइते कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको गुल्मी अस्पतालले जनाएको छ ।

यता डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलमा मुचुल्काको काम भइरहेको र मृत चितुवाको व्यवस्थापन कार्य अगाडि बढाउने तयारी भइरहेको छ । चितुवाले कुखुरा फर्ममा रहेका ६१ वटा कुखुरा मारेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १८:५८