सूचनाको शक्ति - The Power Of Information

        

मान्छे नबस्दै जनता आवास कार्यक्रमले बनाएका घर जीर्ण

जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् । डिजाइन इष्टिमेटअनुुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।

खार्पुनाथ गाउँपालिका–५ को याङ्चुु गाउँका दलित समुदायका लागि निर्माण गरिएका २६ घरको चार वर्ष पुगेको छ । तर हालसम्म एक जना पनि सेवाग्राही ती घरमा बसाई सारेका छैनन् ।

सेवाग्राही रतन कामीले अपायक पर्ने स्थानमा घर निर्माण भएकाले नयाँ बनेको घरमा कोही नसरेको बताए । सो स्थानमा भुुतप्रेत तर्साउने भएकाकारण आफूहरुले सो ठाउँमा बस्न नमानेको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले पुराना र जीर्ण घरमा बस्दै आएका दलित समुदायका लागि गाउँपालिका केन्द्रसँगै जोडिएको स्थानमा घर निर्माण भएको भए पनि कसैले बस्न नमानेको बताए ।

नयाँ निर्माण भएका घरमा सेवाग्राही बस्नका लागि हरेक जुक्ति लगाउँदा पनि कुनै सीप नलागेको उनले बताए । हाल अधिकांश घरका झ्याल ढोकाको काठ चोरी भएको छ । कुनैको गाह्रो समेत भत्कन थालेको अबस्थामा रहेको उनले बताए ।

खानेपानीको धारा र शौचालय समेत ती घरका लागि निर्माण गरिएका छन् । तर त्यो लगानी बालुुवामा पानी सरह भएको उनको भनाइ छ । कार्यक्रमले एउटा घर निर्माणका लागि साढे दुुई लाख रुपैयाँ लगानी गरेको उले बताए । घर निर्माणमा सेवाग्राहीको जनश्रमदान पनि रहेको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १८:००