काठमाडौं उपत्यकाभित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन् । उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ । अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो । आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन ।
डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ । जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ । सामान्यतः यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ । यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ ।
एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले जान्नैपर्ने तथ्य हो । यो रोग लागिसकेपछि कसरी ठीक गर्ने भन्ने विषय प्राथमिक रूपमा आम चासोको विषय हुन्छ तर त्यस अतिरिक्त यस रोगको अन्य विषय आमरूपमा जनस्वास्थको होइन ।
डेंगु रोगको सामान्य लक्षण भनेको जोर्नीहरूमा लठ्ठीले पिटे जसरी दुख्नु हो । आँखाको गेडीको भित्री भागमा तीब्र पीडा हुन्छ । लगातार टाउको दुख्छ । पटक पटक वान्ता हुन्छ । खानाको स्वाद आउँदैन । उच्च ज्वरो १०३ देखि १०४ डि. फरेनहाइटसम्म आउँछ । साथै थकान लागिरहन्छ, हाडजोर्नी दुख्ने गर्छ र पटकपटक पखाला लाग्दछ । शरीरको कुनै पनि अंग सुन्निनु वा त्यहाँबाट रक्तस्राव हुन थाल्नु भनेको लक्षण जटिल बनेको मानिन्छ ।
डेंगु रोगीको रगत परीक्षण गर्दा प्रायः प्लेटलेटस (एक प्रकारको रक्तकोष) को संख्या ह्वात्तै कम भएको पाइन्छ । जसले गर्दा घातक अवस्था निम्तिन सक्ने हुन्छ । प्लेटलेट्स अत्यधिक कम भएको अवस्थामा कहिले काँही रक्तस्राव भई रोगीको ज्यानसमेत जाने गर्दछ । आधुनिक चिकित्सा विज्ञानले यस रोगमा खासै कुनै औषधि दिन नसकेको परिस्थितिमा वैकल्पिक चिकित्सा विधिहरूको खोज गरिएको छ ।
डेंगुमा जब प्लेटलेट्सको संख्या अत्यधिक घट्छ त्यसपछि रोगीलाई सलाइन मार्फत अरुबाट झिकिएको संरक्षित प्लेटलेटस् रोगीमा चढाउनुको विकल्प हुँदैन, आधुनिक चिकित्सा विज्ञानमा तर आयुर्वेदमा डेंगु रोगीलाई मेवाको पातको रस सेवन गराएर मात्र पनि प्लेटलेटस् अपेक्षित रूपमा बढाउन सक्दछ । आयुर्वेदमा मेवालाई औषधीय वनस्पतिको रूपमा उल्लेख गरेको पाइन्छ । मेवा मूलतः नेपालको वनस्पति होइन ।
दक्षिण अमेरिकी मुलुक ब्राजिलको मूल वनस्पति मेवालाई पोर्तुगिजहरूले भारतीय उपमहाद्विपमा भित्रयाएका हुन् । पोर्तुगिज भाषामा मेवालाई पपिता भनिन्छ जसलाई हिन्दीमा पनि पपिता नामले नै चिनिन्छ । लैटिनमा कैरिया पपाया भनिने यही पपितालाई नेपालीमा मेवा भनिन्छ । जसलाई आयुर्वेदीय ग्रन्थमा (वा संस्कृतमा) नलपर्णी वा मधुकर्कटी वा एरण्डचीरभक्त भनेर पनि उल्लेख गरिएको छ ।
मेवाको पात, फल, बीउ र दुधलाई औषधीको रूपमा प्रयोग गरिन्छ । मेवामा ग्लुकोज, भिटामिन, खनिज लवण, स्थिरतेल, उड्डयनशील तेलहरूको अतिरिक्त मुख्य रूपमा पापेन, कैरिसिन, माईरोसिन, कार्पासेमिन, कार्पेन, कार्पोसाईड आदि चिकित्सा उपयोगी जैवरसायन पाइन्छ । मेवाको दूधमा काईमोपापेन र २० प्रतिशत पापेन पाइन्छ जसमा खाने दूधलाई जमाउन सक्ने र प्रोटिनलाई पचाउन सक्ने अदभूत शक्ति हुन्छ ।
आयुर्वेदीय मान्यता अनुसार काँचो मेवा कफ र वातलाई समन (सुन्तुलन) गर्ने क्षमता हुन्छ भने पाकेको मेवामा पित्तलाई पनि समन गर्ने क्षमता हुन्छ । समग्रमा यसले शरीरको वात, पित्त र कफ तीन वटै दोषलाई समन गर्न सक्ने सामर्थ राख्छ । मेवाको १ भाग पापेन वा काईमोपापेनले २५० भाग मासुलाई पचाउन सक्दछ । १ ग्राम मेवाको दूधको पाउडरले आधा लिटर खाने दूधलाई पचाउन सक्दछ ।
आयुर्वेद चिकित्साले डेंगु रोगमा मेवाको रस निकै लाभदायी हुन्छ भन्दै गर्दा आधुनिक एवं वैज्ञानिक भनाउने एउटा समूहले यसको मजाक उडाइरहेको छ । यसको प्रभावकारिताको पुष्टिका लागि प्रमाण छैन भन्ने भ्रम छरिंदै छ । उपलब्ध प्रमाणहरूमाथि प्रश्न उठाइँदै छ । जनस्तरसम्म एक खालको पूर्वाग्रही दृष्टिकोण प्रचार गरिएको छ । विशेषज्ञहरूबाटै ती भ्रमहरू आमसञ्चारका माध्यममार्फत प्रसार भइरहेका छन् ।
आधिकारिक एवं विश्वसनीय स्विस जर्नल प्रकाशन संस्था ‘एम्डीपिआई’ को न्युट्रियेन्ट्स नामक जर्नलमा सन् २०२२ अप्रिल अंकमा बीई पिङ् तेह एवं समूहद्वारा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा मेवासम्बन्धी प्रकाशित २८ वटा वैज्ञानिक अनुसन्धानहरूको समीक्षात्मक अध्ययनको निष्कर्ष अनुसार मेवाको पातमा मूल रूपमा दुईवटा औषधीय गुण उच्चतम मात्रामा पाइन्छ, पहिलो एन्टी–थ्रोम्बोसाइटोपेनिक र इम्युनोमोडुलेटरी ।
अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त जर्नलहरूमा प्रकाशित ३ वटा इथ्नोबोटानिकल अनुसन्धान, ३ वटा अजैविक अनुसन्धान, १ वटा कोषीय अनुसन्धान, १३ वटा जनावरीय अनुसन्धान र १० क्लिनिकल अनुसन्धानहरूको समीक्षा गरिएको उक्त अनुसन्धान पत्रले दिएको उपर्युक्त निष्कर्ष प्रमाण, मेवाको चिकित्सकीय गुणको वैज्ञानिक प्रमाणिकताको लागि हाललाई पर्याप्त छ । मोड अफ एक्सन पत्ता लागेको छैन भन्दैमा यसलाई प्रमाणहीन भन्नु ठीक हुँदैन ।
डेंगु रोगीमा मेवाको ताजा पातको रस प्रतिदिन २०–४० मिलिलिटर दिनको दुईदेखि तीन पटकसम्म खाली पेटमा दिनु अति प्रभावकारी हुन्छ । मेवाको पातले प्लेटलेट्सको संख्या बढाउनुको साथसाथै रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ भन्ने तथ्य अनुसन्धानले स्पष्ट रूपमा बताइसकेको छ । आधुनिक चिकित्सा विज्ञानका चिकित्सकहरूको स्वीकार्यताका लागि अझ देखाउनुपर्ने कस्तो प्रमाण हो ?
मेवाको पातको रसलाई कुनै बहुराष्ट्रिय कम्पनीले सिरप बनाएर बजारमा ल्याउला, औषधी व्यवस्था विभागले त्यसलाई बेच्ने अनुमति देला, त्यसपछि त्यसको प्रचारको लागि मेडिकल प्रतिनिधिहरू चिकित्सकहरूको ढोका ढोकामा पुग्लान् अनि बल्ल स्वीकार गरौंला भन्ने पर्खाइ हो भने धैर्यपूर्वक पर्खिनुहोस् तर डेंगुले रोगीहरूलाई पर्खिने छैन ।
त्यस अवधिमा यहाँहरूको पूर्वाग्रहले मात्रै धेरै डेंगु रोगीको ज्यान गइसकेको हुनेछ । यहाँ समस्या वैज्ञानिक प्रमाणको अभाव हो कि वैकल्पिक चिकित्सा पद्धतीहरूप्रतिको पूर्वाग्रहको हो खुट्याउनुपर्ने भएको छ । वैकल्पिक पद्धतिहरूप्रतिको उपचारात्मक परिणामहरूले त्यस्ता पूर्वाग्रहलाई त भत्काइ नै दिनेछ । समयले वैकल्पिक पद्धतिहरूलाई सर्वस्वीकार्य बनाउने पर्यावरण निमार्ण गर्नेछ ।
भारतको तमिलनाडु राज्यमा डेंगु संक्रमणको व्यवस्थापनको लागि कालमेघ नामक औषधीय वनस्पतिसँगै मेवाको पातको व्यापक प्रयोग हुन्छ भने केरल राज्यमा मेवा–पत्ताको विशेष रूपमा प्रयोग हुन्छ । कुनै पनि विधा आफैंमा सम्पूर्ण हुँदैन । एक अर्काको पुरकको रूपमा सहकार्य गर्नु नै उद्देश्य प्राप्तिको लागि बुद्धिमानी हुन्छ । अहिले डेंगु रोगको प्रकोपसँग लड्ने सन्दर्भमा आधुनिक चिकित्सा विज्ञान र अन्य वैकल्पिक चिकित्सा विज्ञानहरूले सहकार्य गर्नु अहिलेको आवश्यकता हो ।
चिकित्सकको पूर्वाग्रहले चिकित्सा सेवामै प्रभाव पार्नुहुँदैन । चिकित्सा स्वतन्त्र रहनुपर्छ । चिकित्साको केवल एउटै उद्देश्य हुन्छ । त्यो हो, सुरक्षित रूपमा रोगीको उपचार । आधुनिक चिकित्सा विज्ञानबाट गरिएको चिकित्सा मात्र चिकित्सा अन्य विधि अवैज्ञानिक एवं अन्धविश्वास हो भन्ने बुझाइ सर्वथा गलत हो, एकाङ्की हो । जनस्वास्थ्य संकटहरूसँग जुध्न चिकित्सकीय विविधतालाई स्वीकार गर्नु नै बुद्धिमानी हुन्छ । युद्ध गर्ने सैनिकको उद्देश्य युद्धमा विजय हासिल गर्नुहुन्छ ।
के ले कसरी विजय हासिल गरिन्छ भन्ने समीक्षाको विषय मात्र हुन्छ । सुरक्षित रूपमा जे जे अस्त्रशस्त्रले येन केन प्रकारेण सत्रुलाई परास्त गरी विजय हासिल गर्नु नै योद्धा हुन्छ । उसैको सम्मान हुन्छ । गोली ठोकेर हानेर सत्रुलाई विजय गर्ने सच्चा योद्धा र खुकुरीले सत्रु परास्त गर्ने कायर भन्ने हुँदैन । ठीक त्यसै गरी विभिन्न चिकित्सा पद्धतिहरू एवं जनशक्तिले जनस्वास्थ रक्षार्थ त्यसरी नै संगठित साधन बन्नसक्नुपर्छ ।
आयुर्वेद चिकित्सा व्यक्तिपरक चिकित्सा हो । एउटा व्यक्तिमा निकै प्रभावकारी देखिएको आयुर्वेदिक औषधि र विधि अर्को व्यक्तिमा त्यति नै प्रभावकारी नहुन सक्छ । त्यस अवस्थामा युक्तिपूर्वक थप विकल्पहरूको प्रयोग गनुपर्ने हुन्छ । डेंगु रोगमा रोगी र रोगीको अन्य धेरै पक्षलाई विचार पु¥याएर मात्र आयुर्वेद विधिद्वारा युक्तिपूर्वक संवेदनशील चिकित्सा गरिन्छ । अतः आधिकारिक व्यक्तिको परामर्श विना डेंगु ज्वरको स्वेच्छिक चिकित्सा गर्न खोज्नु घातक पनि हुनसक्छ ।
आइएनएस–स्वतन्त्र समाचार
डा.रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) ।