सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनमा ‘लामो छलफल’, जुटेन सहमति, भोलिको बैठक निर्णायक

आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आइतबारको बैठक पनि निष्कर्षविहीन बनेको छ ।

उनीहरूले आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन नसकेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । बैठक भोलि बिहान पुनः बस्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान ८ बजे बालुवाटारमै बैठक बस्नेछ । सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने उनले बताए । ‘आज लामो छलफल भयो । तर, सिट बाँडफाँटको विषयमा सहमति जुटेन,’ उनले भने, ।

उनका अनुसार भोलि बालुबाटारमा ८ बजे शीर्ष नेताहरूको बैठक बस्नेछ । सम्मानित नेता खनालले भने, ‘आवश्यकता अनुसार कार्यदलका साथीहरूलाई पनि बोलाइनेछ । हामी सहमतिमा पुग्छौँ ।’ सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ ।

सम्मानित नेता खनालले सिट बाँडफाँटको टुंगो लगाउने गरी भोलिको बैठक निर्णायक हुने बताए । सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १४:३८