सरकारले बर्सेनि दशैं तिहारलाई लक्षित गर्दै सुपथ मूल्य पसलको व्यवस्था गर्छ । आम उपभोक्ताका लागि खाद्यान्नका निश्चित परिमाणमा छुट घोषणा गरिन्छ यो अवधिमा । यसपटक पनि सुपथ मूल्य पसल संचालनको तयारी छ तर उपभोक्ताको मागका अनुपातमा सरकारी निकायले खाद्यान्नको व्यवस्थापन गर्न सकेको छैन ।
हरेक वर्ष चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउन सरकारको खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सुपथ मूल्य सञ्चालन गर्छन् । दशैंको सहुलियत पसल सञ्चालनका लागि तीनवटै निकाय तयारीमा जुटेका छन् । तर, साल्ट ट्रेडिङसँग चिनीको ‘स्टक’ छैन । दुग्ध विकास संस्थानमा पर्याप्त मात्रामा घ्यू, बटर मौज्दात छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्यांग्रा खरिदको प्रक्रिया नै सुरु गरेको छैन । त्यसैले सरकारले घोषणा गरे पनि यी तीन निकायले उपभोक्ताका लागि खाद्यान्न व्यवस्थापन गर्न गाह्रो छ । सरकारले यसपटक चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । दशैंका लागि सहुलियत पसल १५ दिनसम्म सञ्चालन हुनेछ ।
जसमा ४१ जिल्लाका ४४ वटा आउलेटहरुबाट चामल, दाल, पिठो, मैदा र चिउरामा खानेतेल ७ रुपैयाँको दरले छुट दिने, कर्णाली सिमी र गेडागुडीमा १० रुपैयाँ छुट दिइ बिक्री वितरण गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खाद्यान्नको स्टक रहेकाले अहिले खसीबोका र च्याङ्ग्रा कहाँ उपलब्ध उपलब्ध हुन्छ भनेर खोजी गर्न थालेको कम्पनीकी सूचना अधिकारी सर्मिला सुवेदीले बताइन् ।
‘चामल, दाल कम्पनीसँग स्टकमा छ । खसीबोका र च्यांग्रा खरिद गरेर ल्याउने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘घटस्थापनाको आसपासमा दशैंको सहुलियत पसल सुरु हुने भएकाले रिपोर्टिङ भइरहेको छ । हाम्रा शाखा कार्यालयहरुबाट नयाँ सूचना आएको छैन ।’ उनका अनुसार यसपालि पनि ३९ जिल्लामा कम्पनीका ४२ वटा आउलेटहरुबाट सहुलियत दरमा खाद्यान्न बिक्री हुनेछ ।
उपत्यकामा दाल, तेल, नुन, चामल, गेडागुडी, खसीबोका र च्याङ्ग्रा उपलब्ध भए पनि बाहिरका जिल्लामा सबै खाद्यान्न नपाइने उनले बताइन । यो वर्ष सहुलियत पसलका लागि खाद्यान्न परिमाण र आउटलेटहरु कम्पनीले थपेको छैन । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसलका लागि तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयबाट छुट दिएको खाद्यान्नको दर तोकेको पत्र आउन बाँकी रहेको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए । मन्त्रालयले नुन, चिनी, चामल, चिउरा, तोरीको तेल, सूर्यमुखी र तोरीको तेलमा छुटसहित बिक्री गर्न निर्देशन दिने गरेको छ । सरकारले तोक्ने छुटमा कम्पनीहरुलाई नोक्सान पर्ने भए सो बराबरको रकम उपलब्ध गराउने गरेको छ ।
‘एक जना उपभोक्ताले कति परिमाणमा खाद्यान्न खरिद गर्ने भनेर तोकिएन भने व्यापारीहरुले आएर लैजाने सम्भावना हुन्छ,’ उनले भने, ‘सहुलियत सर्वसाधारणले पाउनुपर्छ भनेर कोटा तोकिन्छ । हामीले चलाउने दशैंतिहार लक्षित पसलको तयारी भइसक्यो, अब छुटसहितको मूल्य र परिमाण तोक्न बाँकी छ ।’ अघिल्लो वर्ष सुपथ मूल्य पसलमा सूर्यमुखी तेलमा छुट थिएन । तेलमा यो वर्ष प्रतिलिटर ७ रुपैयाँ छुट पाइने भएको छ ।
बजारबाट चलेको मूल्यमा खाद्यान्न खरिद गरेर बेच्ने भएकाले सरकारले तोक्ने छुट दिँदा कम्पनीलाई नोक्सान हुने प्रधानले बताए । ’त्यसैले सरकारले तोकेको छुट दिने हो भने कम्पनीलाई त्यो छुट बराबरको पैसा कसरी उपलब्ध हुन्छ भन्ने बारेमा हामी छलफलमा छौं,’ उनले भने । हालको लागि चिनीको अभाव सबैभन्दा ठूलो समस्या भएको उनले बताए । अघिल्ला वर्ष बजारको भन्दा केजीमा २० रुपैयाँसम्म सस्तो चिनी पाइन्थ्यो ।
त्यसैले साल्ट ट्रेडिङका आउटलटमा उपभोक्ताको भीड हुने गरेको थियो । अन्य खाद्यान्नभन्दा चिनीको खपत धेरै हुने भए पनि कम्पनीमा यो वर्ष स्टक शून्य रहेको उनले बताए । ‘नयाँ लट आयात भएर आइपुगेको छैन । मौज्दात सकियो,’ बजार प्रबन्धक प्रधानले भने, ‘साल्ट ट्रेडिङमा चिनीको स्टक सकिएको २ महिना भइसकेको छ ।’
सहुलियत पसलमा यसपटक सरकारले चिनी प्रतिकेजी ५ रुपैयाँ छुट दिनुपर्ने तोकेको छ । तर कम्पनीसँग स्टक नभएकाले यो वर्ष उपभोक्ताले सहुलियत पसलमा चिनी नपाउने सम्भावना बढी रहेको उनको भनाइ छ । मन्त्रालयले दुग्ध विकास संस्थानलाई सहुलियत पसलमा पनिर, चिज प्रतिकेजी २० रुपैयाँ छुट दिएर बेच्न भनेको छ ।
घ्युमा प्रतिलिटर ५० रुपैयाँ छुट दिने निर्णय गरे पनि संस्थानम कच्चा दूधसँगै दुग्धजन्य पदार्थ स्टकमा धैरै छैन । हाल बिक्रीवितरण भइरहेको घ्यु, पनिर र चिजले बजारको मागलाई जसोतसो धान्ने महाप्रबन्धक सन्जिव झाले बताए । दूध संकलन घटेकाले पनिर र घ्यूको उत्पादनमा असर परेको उनको भनाइ छ । चाडपर्वको समयमा करिब १० देखि १५ हजार केजी घ्यूको माग हुने गरेको छ ।
‘बाहिरबाट आयात गर्न दिएको छैन । सहुलियत पसलका लागि समय कम छ,’ उनले भने, ‘यतिबेला कच्चा दूधको संकलन पनि थोरै छ । गत साता आयात गर्न दिएको भए डेरी प्रोडक्ट अभाव हुने थिएन ।’ अब आयातका लागि समय नभएकाले स्थानीयस्तरमा दूध संकलन बढाएर भए पनि घ्यू र बटरको व्यवस्था गर्न संस्थान लागिपरेको उनले बताए । उनका अनुसार अहिले देशभर नै दुग्धजन्य उत्पादन परिमाण घटेको छ ।
यसकारण सहुलियत पसलमा दुग्धजन्य वस्तुको आपूर्ति सहज बनाउन कृषि मन्त्रालयलमा समेत सहयोग मागेको महाप्रबन्धक झाले बताए । चाडपर्वमा मागसँगै खपत धेरै हुन्छ । आयात र स्थानीय बजारबाट व्यवस्थापन भएन भने सहुलियत पसलका साथै अन्य समयमा पनि घ्यू, दही, पनिर, बटर र चिजको लगायत दुग्धजन्य पदार्थ पर्याप्त मात्रामा पाउन गाह्रो हुने महाप्रबन्धक झाले बताए ।
भारतले चिनी र गहुँपछि कनिका निर्यात रोकेको छ । सरकारले चामलमा भन्सार बढाएको छ, जसको सोझो असर अब बजारमा चामलको खुद्रा बिक्रीसम्म पर्ने निश्चित नै छ । पेट्रोलियम पदार्थ महँगिदा सार्वजनिक यातायात र ढुवानी भाडा बढेको छ । आम उपभोक्ताका लागि यो दशैं महँगो भएर आउने देखिएको छ ।
सत्यपाटी । काठमाडौं ।