सूचनाको शक्ति - The Power Of Information

        

एमाले सांसद सिलवालविरुद्व मिटरब्याजको सात करोडको उजुरी

मिटरब्याज सम्बन्धि अपराधमा एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालमाथि पनि छानबिन सुरु भएको छ । उनीविरुद्ध पनि उजुरी परेपछि सरकारले गठन गरेको समितिले प्रारम्भिक छानबिन गरेर प्रहरीमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सिलवालविरुद्ध चितवनका गुनबहादुर थापाले उजुरी गरेका हुन् । सिलवालले आफ्नो सात करोडको जग्गा राजीनामा पास गरेर लिएको र अहिले पनि वकिलमार्फत धम्काउने गरेको दाबी थापाले गरेका छन् । आफुले सिलवालसँग तीन करोड एक लाख रुपैयाँ लिएको र त्यसको ६ महिनापछि नै चार करोड ७६ लाख रुपैयाँ फिर्ता गरेको थापाको दाबी छ ।

तर, पछि मकवानपुरको सात करोड रुपैयाँ बराबरको जग्गा पास गरेर उनको उजुरीमा उल्लेख छ । प्रहरीमा हुँदा पदको दुरुपयोग गरी आफुलाई झुटा मुद्दामा फसाएको समेत उनको भनाई छ । अहिले पनि वकिल केदार उप्रेतीमार्फत आफुमाथि धम्काउने गरेको भन्दै उनले सिलवालमाथि कारबाहीको माग गरी उजुरी दिएका छन् ।

सहसचिव डा भीष्मराज भुषाल नेतृत्वको टोलीले मिटरब्याजसम्बन्धि समस्याको छानबिन गरिरहेको छ । सिलवालसहित करिब दुई हजार व्यक्तिविरुद्ध मिटरब्याजको उजुरी परेको छ । सिलवालले भने निर्वाचनको मुखमा नियोजित रुपमा बदनाम गर्न आफुविरुद्ध उजुरी गरेर प्रचार गरिएको बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १३:४२