सूचनाको शक्ति - The Power Of Information

        

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा सुदूरपश्चिमको जित

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिमले प्रदेश–१ लाई पराजित गरेको छ । आइतबार टीयु क्रिकेट मैदानमा प्रदेश १ लाई १३ रनले हराउँदै पहिलो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश–१ ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३१ रन मात्र बनायो । उसका लागि दीपेश कँडेलले अविजित ३४, कप्तान फिर्दोष अन्सारीले ३३, सोनु मण्डलले अविजित २६ र सन्दीप ढुंगानाले १३ रन जोडे ।

सुदूरपश्चिमका लागि मिलन बोहराले दुई, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउँद र नारायण जोशीले एक–एक विकेट लिए । त्यसअघि सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनायो । उसका लागि बसन्त खत्रीले अर्धशतकीय पारी खेले ।

उनले ४१ बलमा ४ छक्का र २ चौकासहित ५३ रन बनाए । मिलन बोहराले ४४, लोकेन्द्र चन्दले २४ रन जोडे । प्रदेश–१ का फिर्दोष अन्सारीले ३, दीपेश कँडेलले २, कमल खत्रीले १ विकेट लिए । प्रदेश–१ ले एक विकेट भने रन आउटको रूपमा प्राप्त गर्यो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १३:३०