सूचनाको शक्ति - The Power Of Information

        

विचार

सामाजिक होइन, ‘अ’सामाजिक सञ्जाल

आजकल कुनै जिम्मेवारीबाट राजीनामा दिँदा पनि सामाजिक सञ्जालमै दिने गरेका छन् । हरेक मान्छेले उठाएका सवालको अन्तिम निष्कर्ष वा समाधान सामाजिक सञ्जालले दिन थालेको छ ।

केही समयअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङ काठमाडौं आए । त्यसबेला काठमाडौंमा फोहोरको समस्या विकराल थियो । जताजतै फोहोरै–फोहोर । फोहोरको चोक, फोहोर गल्ली, फोहोरको बाटो, फोहोरको सडक, फोहोर बस्ती, फोहोरकै महानगर । काठमाडौंका सडकमा थुप्रिएका फोहोर देखेपछि हर्कले फोहोर हटाउन श्रमदान गर्ने भन्दै व्यांग्य गरे । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरका डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

उनले धराने जनतालाई श्रमदान गराएर हाईहाई बटुलिरहेका थिए । तर, काठमाडौं महानगरका मेयर बालेन्द्र साह भने फोहोरको समस्याले तनावमा थिए । संयोग त्यस्तै बन्यो, हर्क साम्पाङ काठमाडौं आएपछि फोहोर व्यवस्थापन सुरु भयो । धरान पुगेपछि उनले फेसबुकमा लेखे– ‘जसले जे भनोस् । तर, म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कमसेकम काम त शुरु गरे !’ सायद, उनले मज्जाकै मजाकमा लेखे होलान् । हर्क यस्तैयस्तै कुरा गरिहन्छन् । त्यो उनी मेयर हुनुअघिदेखि कै आदत हो । तर, काठमाडौंका मेयर बालेनले उक्त स्टाटसमा कमेन्ट गरेपछि माहोल अर्कै बन्यो ।

कमेन्टमा बालेनले लेखे, ‘हो नि, तपाईंकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।’ त्यसपछिको दुई ‘पियोर’ स्वतन्त्र मेयरबीचको दोहोरी र घोचपेज चल्यो । आजभोली पनि अलि अलि चलिरहन्छ । दुई मेयरबीच चलेको टिप्पणीको दोहोरीबारे सामाजिक सञ्जालमा बग्रेल्ती व्यङ्ग्यहरू सार्वजनिक भए । फोहोरलाई लिएरमात्रै होइन, बालेनले महानगरको अवैध संरचना भत्काएको विषयलाई लिएरसमेत धराने मेयरले प्रहार गरिरहे । हर्कले लेखे, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन ! सबैको बाँच्ने अधिकार हुन्छ !’

यी दुई मेयरको घोचपेच र व्यांग्यले उनीहरूको समर्थक निराश बनेका छन् । यस्ता घोचपेच र व्यांग्यले जनताको साथ र समर्थन गुम्ने भन्दै उनीहरूका समर्थकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । कलाकार दिपकराज गिरिले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् । उनले लेखे, ‘लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौं भने के टेक्छौ के बजाउँछौ ?’ यो त एउटा प्रतिनिधि घटनामात्र हो । सामाजिक सञ्जालको गलत र अमर्यादित प्रयोगको सूची लामो छ । यस्ता कार्यमा सामान्य नागरिकदेखि बौद्धिक व्यक्तिसमेत सामेल हुने गरेका छन् ।

करिब ६ महिनाअघि दुई डाक्टरबीच पनि हर्क र बालेन जस्तै दोहोरी चलेको थियो । अमेरिकी सहायता परियोजना एमसीसीको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री डाक्टर भीम रावलबीच ट्वीटरमा दोहोरी चलेको थियो । यतिसम्म कि विद्यावारिधी उपाधि प्राप्त गरिसकेका दुई विद्वान नेताले एक–अर्कालाई ‘नक्कली डाक्टर’ भएको आरोपसमेत लगाउन भ्याएका थिए । यस्ता घटनाले के देखाउँछ भने हामी सामाजिक प्राणी नै असामाजिक बन्दै गइरहेका छौँ । हामीले अरुलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा बिर्सदै गइरहेका छौँ । स्मार्टफोन र इन्टरनेटले नैतिकता र संवेदना दिनदिनै पतित हुँदै गएको छ ।

एकले अर्कालाई पार्टीको भक्तको आरोप लगाउने र सत्तोसराप गर्नेहरू पनि कम छैनन् । सार्वजनिक चासोका विषयमा सामाजिक सञ्जालमा आफ्नो विचार र तर्क राख्नुलाई अन्यथा भन्न मिल्दैन । तर, यस्ता सस्ता टीकाटिप्पणी गरिन्छ, जसले गर्दा सामाजिक सञ्जाल असमाजिक बन्दै गएको छ । आजकल कुनै जिम्मेवारीबाट राजीनामा दिँदा पनि सामाजिक सञ्जालमै दिने गरेका छन् । कुनै कुरा साथी वा पारिवारिक सदस्यलाई भन्नुभन्दा पहिले सामाजिक सञ्जालमै पोष्ट गर्छौ । हरेक मान्छेले उठाएका सवालको अन्तिम निष्कर्ष वा समाधान सामाजिक सञ्जालले दिन थालेको छ । कतिपय व्यक्तिले ठेक्का नै पाए जसरी यस्ता विवादका कुराहरूलाई प्रचार गरिरहेका हुन्छन्, ठेक्का तोडियो भने उसको घरबास नै उठ्छ जसरी ।

पार्टीगत, जातिगत, व्यक्तिगत विषयलाई लिएर गरिने गालीगलौजले सामाजिक सञ्जालमा जोडिएका सबै व्यक्तिहरूलाई कतै न कतै मनोवैज्ञानिक रूपमा लात हानिरहेको हुन्छ । कसैले प्रतिक्रिया नजनाए पनि मस्तिष्कमा त्यसको प्रतिक्रिया विचार, आवेग र उत्तेजना आउने गर्दछ । मनमा आएको कुरा विचारै नगरी लेख्दा धेरै जिम्मेवार मान्छेको प्रतिष्ठामा क्षति पुगिरहेको हुन्छ । सामाजिक सञ्जाल विचारहरूको हाटबजार भन्ने पनि गरिन्छ । विडम्बना, त्यहाँ त कुहिएको विचारको बजार लाग्न थालेको छ । किनभने, हामी तर्कभन्दा कुतर्क गरेर आफूलाई विज्ञ प्रमाणित गर्ने होडबाजी गरिरहेका हुन्छौँ । जसले गर्दा सामाजिक सञ्जाल असामाजिक बन्दै गइरहेको छ ।

सामाजिक सञ्जालमा आउने कुतर्क र गालीगलौजले मानिसलाई मानसिक रूपमा अशान्त बनाउन थालेको छ । तसर्थ, कतिपयले सामाजिक सञ्जालबाट टाढा बस्ने वा सूचनाका लागि थोरै समयमात्र सामाजिक सञ्जालमा जोडिने गरेका छन् । एउटा भनाइ छ, ‘धनको गरिबी त्यति घातक हुँदैन, जति घातक मानसिकताको गरिबी हुन्छ ।’ धनको गरिब भए स्वयम् पैसा नहुनेलाई मात्र दुःख हुन्छ, तर मानसिक गरिबी भयो भने त्यसले समाजलाई नै गरिब बनाउँछ । अहिले सामाजिक सञ्जालमा मानसिकताको गरिबी देखिन थालेको छ । नकारात्मक विषयले बढी प्राथमिकता पाउन थालेको छ । नकारात्मक र हानिकारक टीकाटिप्पणीमा समाज दिनप्रतिदिन घुलमिल हुन थालिरहेको छ ।

सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्न पाइन्छ । आफ्ना विचार राख्न पाइन्छ । तर, नकारात्मक र हानिकारक टीकाटिप्पणीले असामाजिक बनिरहेको छ । सामाजिक सञ्जाल समाजका फोहोर बाँड्नका लागि हो कि, राम्रा कुरा अरूलाई शेयर गर्न भन्ने प्रश्न खडा भएको छ । कतिपय अवस्थामा सामाजिक सञ्जाल आपतविपतमा सहयोग आह्वान गर्ने माध्यम पनि बनेको छ । तर, असामाजिक बन्नाले यसले समाजमा नकारात्मक असर गरिरहेको छ । सम्पूर्ण चिन्तन नै नकारात्मक धारमा अगाडि बढिरहेको छ । यी सबैको कारक हामी नै हौँ । यस्ता नकारात्मक टीकाटिप्पणीले कुनै समाज, देश सुध्रेको संसारमा कतै उदाहरण छैन । तसर्थ, गरिब मानसिकता र छुद्र बहसबाट माथि उठौँ । सामाजिक सञ्जाललाई असामाजिक सञ्जाल नबनाऔं । सभ्य बनौं । (दृष्टि न्यूज)

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १२:५९