सूचनाको शक्ति - The Power Of Information

        

म्यादी प्रहरीको पारिश्रमिक प्रतिदिन ८६९ रुपैयाँ

नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ ।

एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको हो । म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ ।

जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ ।

खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा जिल्लाको न्यूनतम रासन दररेट अनुसारको रकम पाउनेछन् ।

तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रतिव्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३०० रुपैयाँको दरले चार दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ ।

अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनौट शाखाको भनाइ छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १०:३९