सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामूदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

बाघले खाएको अवस्थामा अधिकारीको शवलाई प्रहरीले आज बिहान साढे ८ बजे जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शनिबार करिब १ बजेको समयमा अधिकारी र उनको छोरा २५ वर्षीय होमबहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए ।

छोराले आफुले भैंसी चराएर आउने भनि बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किएका सूर्यनाथ बाटो बाटै बेपत्ता भएका थिए । छोरा होमबहादुर साँझ भैंसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटो समेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनि आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार १०:०१