सूचनाको शक्ति - The Power Of Information

        

पपुवान्यूगिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प

पूर्वी पपुवा न्यू गिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समय अनुसार ९: ४६ बजे गएको शक्तिशाली भुकम्प सँगै अमेरिकी भूगर्भ सर्वेक्षणले सुनामीको चेतावनी जारी गरेको थियो।

यूएसजीएसले भूकम्प कयानन्टु शहरबाट ६७ किलोमिटर टाढा ६१ किलोमिटर गहिराइमा आएको बताएको छ।

भूकम्पका कारण तटीय सहर मदाङ र थप भित्री क्षेत्रका अधिकांश भवनमा क्षति पुगेको छ। यद्यपी क्षतिको विवरण आइनसकेको एपीले जनाएको छ।

भूकम्पले पपुवान्युगिनीका केही भागमा बिजुली अवरूद्ध भएपछि सुनामीको खतरा टरेको यूएसजीएसले जानकारी दिएको छ।

भूकम्पको झट्का केन्द्रबिन्दु नजिकका शहरहरूदेखि पोर्ट मोरेस्बीसम्म करिब ३०० माइल (४८० किलोमिटर) टाढा देशभरि व्यापक रूपमा महसुस गरिएको थियो।

पूर्वी हाईल्याण्ड सहर गोरोकामा रहेको एक विश्वविद्यालयमासमेत क्षति पुगेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा भूकम्पको समयमा भित्ता र झ्यालहरूमा ठूला दरारहरू देखिएका छन्।

भूकम्प निकै शक्तिशाली भएको मदाङका स्थानीयले एएफपीलाई जानकारी दिएका छन्।

पपुवा न्यु गिनी प्रशान्त महासागरको रिङ अफ फायरमा छ, जसका कारण यहाँ बारम्बार भूकम्प जाने गर्छ।

यसअघि सन् २०१८ मा गएको ७.५ रेक्टर स्केलको भूमक्पमा परि १२५ जनाले ज्यान गुमाएका थिए।

सन् २००४ मा छिमेकी इन्डोनेसियामा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो। जसले सुनामी निम्त्याएको थियो। उक्त सुनामीको कारण २ लाख २० हजार मानिसको ज्यान गएको थियो।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार ०९:२७