सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको शनिबार साँझ बसेको बैठक पनि निष्कर्षविनै सकिएको छ । सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक विनानिष्कर्ष सकिएको हो ।
सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी पाएको कार्यदलले खाका तयार गर्न नसकेपछि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । तर कुनै सहमति भने हुन सकेको छैन । नेताहरू आज टुङ्ग्याउने भन्दै बैठक बस्दै आएका छन् ।
तर बैठक भने सहमति हुन नसकेर सर्दै आएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । ‘निर्णायक छलफल’ बैठक अहिले फेरि बसिरहेको नेताहरूले बताएका छन् ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो । सहमतिका लागि अन्तिम भाका ‘भोलि’सम्मका लागि तय गरिएको नेताहरु बताउँछन् ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।
शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौं बाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर हिजो पनि सहमति जुट्न सकेन ।
सत्यपाटी । काठमाडौं ।