सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका मुख्यमन्त्री भन्छन्, ‘मावि चलाउन कठिन’

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले माध्यमिक विद्यालय सञ्चालन गर्न पनि कठिन भएको बताएका छन् । उनले कर्णालीको अहिलेको स्रोतले चलाउन सक्ने स्थिति नभएको दाबी गरे ।

उनले भने, ‘यहाँ मावि स्तरमा विद्यालय सञ्चालनमा कठिन भएको अवस्था छ । क्याम्पसहरूलाई व्यवस्थित बनाउन सकेका छैनौँ ।’ जुम्लाका बासिन्दाले सिंजा सभ्यता संरक्षण र विश्वविद्यालय सञ्चालनका लागि गरेको आग्रहमा शाहीले यस्तो जवाफ दिएका हुन् ।

जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री शाहीलाई जुम्लाका बासिन्दाले ध्यानाकर्षण पत्र बुझाएका थिए । कर्णालीको अस्तित्वसँग जोडिएका ती विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कन्जुस्याइँ गरिएको भन्दै प्रश्न गरेका थिए ।

कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यी दुवै विधेयक संसद् स्थगित भएपछि अहिले अलपत्र छन् ।

मुख्यमन्त्री शाहीले भने, ‘यी विधेयक हतारमा गरेका निर्णय जस्तै हुन् । यो कर्णालीमा सम्भव छैन । अब हुँदैन पनि ।’ यी विधेयक मुख्यमन्त्रीले मात्रै नभई समितिले ल्याउने बताउँदै समितिले यसको छलफल समेत नगरेको उनले बताए ।

त्यस्तै मुख्यमन्त्री शाहीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक आवश्यक नभएको बताए । उनले कर्णाली प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै विषय त्यसैमा समेटिने बताए । उनले भने, ‘जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आ–आफ्नो सभ्यता खोज्ने समस्या बढ्छ । त्यसैले यो आवश्यक छैन ।’

मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवी र बासिन्दाले ज्ञापनपत्र दिँदै ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ र ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’ पारित गर्न ध्यानाकर्षण गराएका थिए ।

ती दुवै विधेयक कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएका छन् । जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री सहितको बुद्धिजीवीको टोलीले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गरेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १९:४४