सूचनाको शक्ति - The Power Of Information

        

गायक जुबिन नौटियाललाई पक्राउ गर्न माग

भारतीय चर्चित गायक जुबिन नौटियाललाई सामाजिक सञ्जाल ट्विटरमा पक्राउ गर्न माग भइरहेको छ ।

ट्विटर प्रगयोगकर्ताहरूले अरेस्ट जुबिन नौटियाल भनिरहेका छन् । अरेस्ट जुबिन ह्यासट्यागमा हजारौंले ट्वीट गर्दै मानिसहरूले जुबिनलाई पक्राउ गर्न माग गरेका छन् । जुबिन आफ्नो अमेरिकामा हुने आगामी कन्सर्टका कारण ट्रोलरको निशानामा परेका हुन् ।

उनको आगामी कन्सर्टको पोस्टर ट्विटर ट्रेन्डिङमा परिरहेको छ। पोस्टरमा सेप्टेम्बर २३ मा हुने कन्सर्टको जानकारी रहेको छ । उक्त पोस्टर रेहान सिद्दीकी नामका व्यक्तिले ट्वीटरमा सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले क्याप्शनमा लेखेकी छन्, ‘मेरो मनपर्ने गायक आउँदै हुनुहुन्छ। उत्कृष्ट प्रदर्शनको प्रतीक्षामा , राम्रो काम जय सिंह।’

उक्त कन्सर्टका आयोजक जय सिंहको नामका कारण जुबिन ट्रोलको सिकार बनेका छन् । साथै उनलाई पक्रउ गर्न पनि माग भइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार जय सिंह एक अपराधी हुन् जसलाई चण्डीगढ प्रहरीले विगत ३० वर्षदेखि खोजी गरिरहेको छ। जय सिंहमाथि लागुऔषध तस्करी र भिडियो पाइरेसी जस्ता गम्भीर आरोप लागेका छन् । उनी पञ्जाबका हुन् तर, अहिले अमेरिकामा बस्दै आएका छन्।

जुबिन एक अपराधीसँग कन्सर्टमा जोडिएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हो । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले देशद्रोहीको कन्सर्ट गर्ने देशविरोधी भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १८:१६