सूचनाको शक्ति - The Power Of Information

        

राजा घोषित भएपछि चार्ल्सले भने, ‘आमाको पथलाई अनुशरण गर्छु’

राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । बेलायतको सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नव नरेश घोषणा गरिएको हो ।

त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो । घोषणा सभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए ।

गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानअनुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन् । शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे । राष्ट्रका नाममा सम्बोधन गर्दै चार्ल्सले भने, ‘मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु ।’

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १७:५२