सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्वमा किनमेल

दशैंमा सीमापारिको व्यापार, ‘सुक्दै नेपालगन्ज, चम्किँदै रुपैडिहा’

नेपालगन्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । अझ चाडपर्वका बेला रुपैडिहा बजारमा नेपाली उपभोक्ताको संख्या दोब्बर हुन्छ ।

घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगन्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ । यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन ।

हरेक वर्षझैँ यसपटक पनि चाडपर्व नजिकिएसँगै नेपालगन्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, सीमापारि रूपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो लाग्न थालिसकेको छ । दशैं र तिहार नजिकिएसँगै गत केही दिन यता सीमापारि गएर किनमेल गर्नेहरू बढेको पाइएको छ ।

रुपैडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् । जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ । सधैँजसो नेपाली उपभोक्ताले भरिने रुपैडिहामा चाडपर्व आउने भन्दा केही समयअघिबाट त थामिनसक्नु भिड हुने गरेको सीमापारि भारतीय बजार रुपैडिहाका व्यवसायीहरू बताउँछन् ।

अहिले दैनिक सयौँको सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आउने गरेको रुपैडिहाका व्यवसायी ओमकार वैश्य बताए । उनले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाँउ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ताहरू आइरहेको बताए ।

चाडपर्वका लागि किनमेल गर्न रुपैडिहा पुगेकी नेपालगन्ज–११ की फिरदौस जहाँ खानले नेपालगन्जभन्दा यहाँ धेरै सामान सस्तोमा पाइने भएकोले नै आएको बताइन् । रूपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि अन्य समयमा दैनिक तीन करोड बढी र चाडपर्वको बेला दैनिक पाँच करोड बढीको कारोबार हुने गरेको नेपाली व्यापारी बताउँछन् ।

नेपालगन्ज सुनसान

सीमापारिको बजारमा भीड भए पनि नेपालगन्जमा भने अझै खासै चहलपहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागे पनि अझै बजारमा धेरै ग्राहक नदेखिएको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताए । सोही प्रकारको भनाई नगरका अधिकांश व्यवसायीको छ ।

उता, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले भने भन्सारले राजस्व सङ्कलनमा कडाइ नगरेकोले नेपालगन्जको व्यवसाय सुक्दै गएको जनाएको छ । सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ पालना गरे स्थानीय बजारको व्यापार बढ्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताए ।

उनले सीमापारि जाने अधिकांशले राजस्व नतिरेर सामान ल्याउने गरेकोले नै उनीहरू उता जाने गरेको बताए । ‘हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न गर्छौ, तर सफल भने हुन सकेका छैनौँ,’ अध्यक्ष मन्सुरीले भने । भारतीय बजारबाट उपभोक्ताले ल्याउने सामानमा नेपालगन्ज भन्सार कार्यालयले कडाइ नर्दा पनि उपभोक्ताको रोजाइमा भारतीय बजार परेको उनको भनाइ छ ।

भारतीय बजार रुपैडिहामा सामान खरिद गरिरहेका नेपाली उपभोक्ता ।

अध्यक्ष मन्सुरीको भनाई नेपालगन्ज भन्सार कार्यालय भने यो कुरा मान्न तयार छैन । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत प्रवीण लिम्बुले सीमापारिबाट सामान ल्याउनेहरूलाई कडाइ गरेर बढी सामान भएमा राजश्व लिने गरेको बताए । भन्सार प्रमुखको यो प्रष्टीकरणले भने मूर्तता पाउन सकेको छैन ।

भन्सार नतिरेरैै व्यक्तिगत उपभोक्ताले दिनहुँजसो रुपैडिहा बजारबाट चामल, दाल, चिनी, तेल, लुगाकपडा, विद्युतीय लगायतका सामग्री ल्याउने गरेका छन् । नेपालगन्ज फुलटेक्राकी साहान ठकुरीले भने, ‘म महीनामा दुई–तीन पटक रुपैडिहा बजार जाने गर्छु । मैले सामान ल्याउँदा अहिलेसम्म भन्सार तिर्नुपरेको छैन ।’

साहानाजस्ता सयौँ उपभोक्ताले दिनहुँ रुपैडिहाबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरेरै ल्याउँछन् । यही कुराले नेपालगन्जमा व्यापारीलाई सधैँ घोच्ने गर्छ । भन्सार तिर्न नपरेपछि रुपैडिहामा नेपाली उपभोक्ताको भीड त्यहाँका व्यापारीका लागि थेगी नसक्नु छ भने नेपालगन्जका व्यापारी पसलमा ग्राहक पर्खी बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ ।

अझ चाडपर्व, बिहे, व्रतबन्धको समयमा त रुपैडिहा बजारका पसलमा नेपाली ग्राहकलाई खुट्टा राख्ने ठाउँ नै हुँदैन । नेपाली उपभोक्तालाई ध्यानमा राखेर नै रुपैडिहामा सपिङ मल, सपिङ मार्ट लगायतका ठूलाठूला पसल खुलेका छन् । तर, नेपाली उपभोक्ता भने सस्तोका लागि भन्दै भारतीय बजारबाटै सामान किनेर ल्याउने गर्दछन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष मन्सुरी भन्छन्, ‘रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने गलत बुझाइका कारण नेपालगन्जमै सस्तोमा पाइने बहुर्राष्ट्रिय कम्पनीका सामानसमेत नेपाली उपभोक्ताले महँगोमा किनेर ल्याउने गर्दछन् ।’ नेपालगन्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन ।

अझ चाडपर्वका बेला रुपैडिहा बजारमा नेपाली उपभोक्ताको संख्या दोब्बर हुन्छ । रिक्सा, टाँगा र माइक्रो बसमा कोचिएर, भारतीय कष्टमका कर्मचारी र एसएसबीको हेपाइ सकेर नेपाली रुपैडिहामा सामान किन्न जान्छन् । प्रायः सबै उपभोक्ता भन्छन्, ‘नेपालगन्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नुपर्दैन ।’

भारतीय बजार रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोड बढीको कारोवार हुने नेपालगन्ज उद्योग वाणिज्य सङ्घको प्रारम्भिक तथ्याङ्क छ । अझ चाडपर्वका बेला त यो सङ्ख्या र रकम दोब्बर हुने अनुमान नेपालगन्ज उद्योग वाणिज्य संघको अनुमान छ ।

यता नेपालगन्ज भन्सार कार्यालयले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत प्रवीण लिम्बुले गत आर्थिक वर्षमा लक्ष्यको ८८ प्रतिशत मात्र राजश्व सङ्कलन भएको जनाउँदै चालु आर्थिक वर्षको साउन महिनामा पनि ७५ प्रतिशत मात्र असुली भएको बताए । उनले सीमापारिबाट सामान ल्याउनेहरूमाथि कडाइ गरेको समेत बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १७:३६