सूचनाको शक्ति - The Power Of Information

        

महामारीका रुपमा फैलिँदै डेङ्गु

डेङ्गुको उच्च जोखिममा बाँके, कोभिड वार्डमा बिरामीको उपचार

राख्ने ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा समेत बिरामी बसेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि आएका विरामीहरु । फाइल तस्वीर

बाँके जिल्ला डेङ्गु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । भारतसँग सीमा जोडिएको नेपालगन्जमा पछिल्लो समय डेङ्गुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ । बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको सङ्क्रमण देखिएको छ ।

तीमध्ये पाँच जना नेपालगन्ज उपमहानगरपालिका, चार जना कोहलपुर र एक जना बैंजनाथ गाउँपालिकाका रहेका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपालमा डेङ्गु रोगको जोखिममा रहेको बताए ।

यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित सहरीकरण र लामखुट्टे नष्ट गर्ने कार्य भएको उल्लेख गर्दै भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँले डेङ्गु रोगको आशङ्कामा अनावश्यक घरेलु उपचारमा नलाग्न सर्वसाधारणलाई आग्रह गरे ।

भेरी अस्पताल नेपालगन्जले बिरामीको चाप बढेपछि कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायतका बिरामी राखेको छ । कोभिडको भन्दा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा बिरामीलाई राखिएको उनले जानकारी दिए ।

मेडिकल सुपरिटेण्डेन्ट डा चापागाईँका अनुसार भेरी अस्पतालमा बिरामी बढेर राख्ने ठाउँ छैन । राख्ने ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा समेत बिरामी बसेका छन् । अस्पतालमा डेङ्गु लगायतका बिरामी बढेपछि सिफारिस गर्ने क्रम बढेको छ ।

एकैदिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन् । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा डेङ्गु रोगबाट दुई जनाको मृत्यु भइसकेको छ । डेङ्गुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेका अनुसार लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत बिरामी गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।

डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले बताइन् ।

डेङ्गुका बिरामी बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए । डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १५:१८