चलचित्र निर्देशक दिनेश लिङ्देनले नेकपा माओवादी केन्द्र परित्याग गरी स्वतन्त्रबाट उमेदवारी घोषणा गरेका छन् ।
लिङ्देनले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचन एकमात्र संघीय क्षेत्र रहेको पाँचथर जिल्लाबाट प्रतिनिथिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
निर्माता तथा निर्देशक लिङ्देनले सीप र योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।
लामो समय नेकपा माओवादीमा रहेका लिङ्देनले पार्टीको विभित्र संगठनहरुमा रहेर काम गरिसकेका छन् । तर, अहिले आएर उनले माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।
‘माओवादी लगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरु देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरुबाट कुनै सम्भावना छैन,’ उनले भने, ‘पाटीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’
उनले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे । दिनेश लिङ्देनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका चलचित्रहरु निर्देशन गरेका छन् । उनी निर्देशित चलचित्र ‘रीत’ यही आउँदो असोज ३ गते काठमाडौंमा विशेष प्रदर्शनी हुँदैछ ।
सत्यपाटी । काठमाडौं ।