सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट इन्धन आपूर्ति : पाइप लाइनले जोगायो पाँच अर्ब

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट तीन वर्षको अवधिमा २८ लाख ९२ हजार ४२९ किलोलिटर डिजेल भित्रिएको छ । जसबाट पाँच अर्ब रुपैयाँ बचत भएको छ ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका अनुसार भारतबाट पहिले डिजेल आयात गर्दा लाग्ने खर्च मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन बनेसँगै बचत भएको हो । उक्त पाइप लाइन सञ्चालनमा आएको तीन वर्ष पूरा भएको छ ।

पाइप लाइनबाट न्यून लागत र शून्य चुहावटमा निरन्तर इन्धन आपूर्ति गर्न सफल भएको नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले बताए । यसबाट ढुवानी खर्चमा लाग्ने पाँच अर्ब बचत गर्न सफल भएको यादवको भनाइ छ ।

अहिले पाइप लाइनबाट डिजेलमात्र आइरहेकोमा पेट्रोल भण्डारणका लागि ट्याङ्की निर्माण कार्य भइरहेको यादवले जानकारी दिए । सन् २०२४ सम्ममा पेट्रोल र मट्टीतेलसमेत पाइप लाइनबाट आयात गर्ने लक्ष्य रहेको उनले बताए ।

नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरण प्रणालीलाई सुनिश्चित गर्न यो डिपो सञ्चालनमा ल्याइएको हो । कुल ६७ हजार ७२४ वर्गमिटर क्षेत्रमा फैलिएको यो डिपो नेपालकै सबैभन्दा ठुलो भण्डारण क्षमता भएको डिपो हो ।

सुरुको समयमा डिपोको क्षमता ४ हजार ४८० किलोलिटर रहेकोमा अहिले १९ हजार ८४० किलोमिटर डिजेल, ३ हजार ४३० किलोलिटर पेट्रोल र ७६० किलोलिटर मट्टीतेल भण्डारणको क्षमता रहेको छ । यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियम माग धान्न सक्ने अवस्था रहेको बताइएको छ ।

यो डिपोले अहिले २६ जिल्लाको आपूर्ति व्यवस्थापन गर्दै आएको छ । जसअन्तर्गत ४२४ डिलर र २६४ ढुवानीकर्ता रहेका छन् । अमलेखगञ्ज डिपोबाट अहिले विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ ।

अहिले दैनिक औसत पाँच हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५०० किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको बताइएको छ । मोतिहारी–अमलेखगञ्ज परियोजना दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो ।

कुल ६९.२ किलोमिटरको यो पाइपलाइन भारततर्फ ३३ र नेपालतर्फ ३६.२ किलोमिटरमा फैलिएको छ । २०७६ भदौ २४ गतेदेखि यो पाइपलाइनबाट इन्धन आपूर्ति सुरु गरिएको हो पाइपलाइनको क्षमता २५ लाख किलोलिटर रहेको बताइएको छ । यो पाइप लाइनबाट पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ११:५५