सूचनाको शक्ति - The Power Of Information

        

दार्चुला अपडेट : बाढीपहिरोमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । शुक्रबार राति परेको वर्षाले दार्चुलामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार माहाकाली–३ की मानमती कार्की, माहाकाली–२ का नन्दरानम बोहरा, नौगाड–२ का मोहनराम पार्की, नौगाड–१ का जानकी ठगुन्ना र धनमती ठगुन्नाको शव भेटिएको छ ।

अन्य चार जना अझै बेपत्ता छन् । अहिले घटना स्थालमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएका छन् । महाकालीका आएको बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् ।

प्रहरीका अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमासमेत क्षति पुगेको छ । अहिलेसम्म लस्कु नदीले गाउँको एक विद्यालय, ११ वटा घर, दुई पुलका साथै केही सवारी साधनसमेत बगाएको प्रहरीले बताएको छ । रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १०:५४