सूचनाको शक्ति - The Power Of Information

        

भोलिदेखि सोह्र श्राद्ध, यी हुन् श्राद्धमा खान नहुने ४ कुरा

काठमाडौँ भदौ १७ : आज स्रोह श्राद्धको पहिलो दिन बुधबार काठमाडौको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरिदै । हिन्दु धर्मावलम्बीहरुले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा श्राद्ध गर्ने गर्दछन । तस्वीर : रोशन सापकोटा/रासस

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्ध यो वर्ष भोलि भदौ २६ गते आइतबारदेखि प्रारम्भ हुँदैछ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

दसैं, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचन छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

यो वर्षको सोह्र श्राद्ध अर्थात पितृपक्षको प्रारम्भ आइतबारदेखि हुँदैछ । सोह्र श्राद्धका १५ दिनमा हिन्दू धर्म अनुसार पूर्वजहरुलाई तर्पण दिइन्छ । यो अवधिमा पूजापाठका साथै खानपानमा पनि केहि विशेष नियमहरु तय गरिएका छन् । जसको पालना गर्नु आवश्यक छ ।

आफ्ना पूर्वजह्र, जसको मृत्यु भइसकेको छ, ती पितृहरुलाई रिस उठाउनु अथवा कुनै कुरामा चुक्नु भनेको आफ्नो सुख, शान्ति र प्रगति नष्ट हुन थाल्छ भन्ने मान्यता रहिआएको छ । त्यसैले सोह्र श्राद्धको अवधिमा त्यस्ता केहि खानेकुराहरु निर्धारित छन्, जून पितृपक्ष अथवा सोह्र श्राद्धमा सेवन गर्न निषेध मानिन्छ ।

त्यसो त हरेक पुजा आरधनामा र पर्वमा माछा–मासु र मदिरा सेवन वर्जित हुन्छ । किनभने माछा–मासु र मदिराको सेवन गर्नाले भगवान रुष्ट हुन्छन् ।

त्यस्तै, पितृपक्षमा पनि माछा,मासु र मदिराको सेवनबाट टाढा रहनु पर्छ । माछा, मासु र मदिरा बाहेक यी कुराहरु पनि यो अवधिमा खानु हुँदैन ।

जमिनमुनि उम्रिएका तरकारी

तरकारीमा त्यस्ता धेरै कुरा छन्, जून जमिनमुनि फल्छन् । जसलाई कन्दमुल पनि भनिन्छ । जस्तै आलु, शखरखण्ड, मुला, गाजर, सलगम, चुकन्दर आदि ।

यी सबै तरकारीहरु पितृ पक्षमा खानु हँुदैन । यसका साथै यी तरकारीको भोग पनि लगाउनु हुँदैन । त्यस्तै, श्राद्धमा पनि कुनै ब्राह्मणलाई यी तरकारी खुवाउनु पनि हुँदैन ।

लसुन–प्याज

सोह्र श्राद्धमा लहसुन–प्याज नहालेको सादा खाना खानु पर्छ । पितृपक्षमा पूर्ण रुपले शुद्ध भएर रहनु पर्छ । लहसुन–प्याजको सेवन बाट टाढा रहनु पर्छ ।

चनाको सेवन

पितृपक्षमा पूर्वजलाई चना, चनाको दाल, चनाको सातु, चनाबाट बनेको मिठाई र चनाबाट बनेको खाद्य पदार्थ चढाउनु हुँदैन भने खानु पनि हँुदैन । श्राद्धमा चनाको सेवन गर्नु हुँदैन ।

मुसुरोको दाल

चनासंगै पितृपक्षमा मुसुरोको दाल पनि खानु हुँदैन । मुसुरोको दाल अशुभ मानिन्छ । मुसुरको दाल र चनाबाहेक पितृपक्षमा कुनै पनि कुरा काँचो खानु हुँदैन । पितृपक्षमा केवल पाकेको भोजन मात्र सेवन गर्नु पर्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ०८:५४