अहिले देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गए रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।
पछिल्लो ६ घण्टामा डडेल्धुरामा ८० मिलिमिटर पानी परेको छ । यस्तै बाजुरामा ३५ मिलिमिटर र ताप्लेजुङमा ६६ मिलिमिटर पानी परेको छ । मनसुनी वायु र भारतबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिनयता लगातारजस्तै पानी परेको छ ।
आज दिउँसो पनि मधेस प्रदेश र प्रदेश १ बाहेक बाँकी सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । दिउँसो केहीबेर घाम लागेर मौसम खुले पनि त्यसपछि फेरि पानी पर्ने सम्भावना छ ।
आज राति पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यसैबीच ठूला पानी परेका ठाउँमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन–चार घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
डडेल्धुराको गैबन्दे, कञ्चनपुरको केही क्षेत्र र दैलेखको ग्वाँटी आसपासको क्षेत्रमा ठूलो पानी परेकाले यी ठाउँ भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम भएकाे हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
लोहोरेखोला, रंघुन, चौधरलगायतका साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा र पहिरो जानसक्ने भिरालो जमिनमा बस्ने नागरिकलाई आज बिहान ९ बजेसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सत्यपाटी । बाँके ।