सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता दिने भएको छ ।
प्रदेश सरकारको बजेटबाट परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक २ हजारका दरले भत्ता दिने बताएको हो ।
प्रतियोगितामा सुदूरपश्चिमबाट ७ सय बढी खेलाडी सहभागी हुने परिषद्ले बताएको छ । खण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिदैछ ।
सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि एक हजार २ सय ८३ पुरूष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिँहले बताए ।
यी मध्येबाट ७०९ जना खेलाडी गण्डकी जान छनोट हुने छन् । जसमध्ये एक सय ९४ जना खेलाडीले छनोट खेल्नु नपर्ने, सोझै छनोट हुने भएका छन् । असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा सहभागी हुन चाहने खेलाडीबाट आवेदन लिइएको थियो ।
आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक संख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी ४७२ जना खेल पदाधिकारी सहभागी हुनेछन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट १ हजार ४ सय ८१ जनाको टोली गण्डकी जानेछ ।
सत्यपाटी । काठमाडौँ ।