सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

डेंगुको उच्च जोखिममा नेपालगन्ज

बाँकेमा हालसम्म ११ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

डेंगु बढ्दै जाँदा उपमहानगरपालिकाले आयोजना गरेको समन्वय बैठक ।

पश्चिम नेपालको केन्द्रबिन्दु मानिने नेपालगन्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएको सो सहरमा डेंगुका रोगी भेटिनेक्रम बढ्दै गएपछि नेपालगन्ज डेङ्गुको उच्च जोखिममा परेको हो ।

डेंगुका बिरामी बढ्दै गएपछि उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताए । डेंगु रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उनले बताए ।

हालसम्म बाँके जिल्लामा कसैको पनि डेंगुबाट मृत्यु नभए पनि कैलाली र बर्दियाका दुई जनाको डेंगुबाट भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भैसकेको छ । यसैबीच डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरले विभिन्न सरोकारवालाबीच शुक्रवार बैठक आयोजना गरी तत्काल नियन्त्रणमा लाग्न निर्देशन दिएको छ ।

सो बैठकमा डेंगी रोगको अवस्था, लक्षण तथा जोगिने उपाय र नियन्त्रणका सवालमा भएका कामबारेमा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे र स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताइन् । त्यस क्रममा डा.पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपाल यो रोगको जोखिममा रहेको उहाँहरूको भनाई छ ।

यो विश्वव्यापी समस्याका रूपमा रहेकाले यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित सहरीकरण भएको उनले बताए । डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नुपर्ने डा. पाण्डेले बताए । डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन गौतमले बताए ।

बाँकेमा हालसम्म ११ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । तीमध्ये नेपालगन्ज उपमहानगरमा पाँच जना, कोहलपुरमा चार जना र बजैनाथ गाउँपालिकामा एक जना रहेका छन् । बैठकमा भेरी अस्पतालका प्रमुख डा.बद्री चापागाईँ, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, जिल्ला रेडक्रसका दोलखबहादुर डाँगी लगायतले नियन्त्रण प्रयासलाई अझै तीव्र पारिनुपर्नेमा जोड दिए ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताए ।

‘अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्,’ उनले भने । डा रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १५:२३