सूचनाको शक्ति - The Power Of Information

        

काममा फर्किए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनका कार्यक्रम स्थगित गरि नियमित काममा फर्केका छन् । ६० जना डाक्टरहरुले दिएको सामुहिक राजीनामा फिर्ता लिदै डाक्टरहरु नियमित काममा फर्केको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए ।

जिल्लाका सबै राजनीतिक दलहरुले डाक्टरहरुको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि डाक्टरहरु नियमित काममा फर्केको प्रतिष्ठानका रजिष्ट्रार महतले जानकारी दिए ।

प्रतिष्ठानमा डाक्टहरुले इर्मेजेन्सी बाहेकका सबै ठप्प पारेका सेवाहरु नियमित रुपमा शुक्रबारदेखि सुचारु हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले जनाएको छ । प्रतिष्ठानका डाक्टर करण शाहमाथि लागेको आरोप फिर्ता लिने सहमति पछि सबै डाक्टरहरु काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ । गत भाद्र २ गते डा.करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए ।

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गराएका थिए । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १५:०१